साइकल वितरणमा व्यापक अनियमितताः विद्यार्थीभन्दा बढी साइकल वितरण



जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्रीद्वारा सञ्चालित “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत जनकपुरधामस्थित श्री सकल भवन कन्या उच्च माविमा वितरण गरिएको साइकल व्यापक अनियमितता भएको देखिएको छ । 

छोरीलाई शिक्षातर्फ आकर्षिक गर्ने उद्देश्यले कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई गरिएको साइकल वितरणमा सो विद्यालयले वास्तविक विद्यार्थी संख्याभन्दा बढी साइकल भित्र्याएको छ । 

प्राप्त जानकारी अनुसार विद्यालयमा ए र बी गरी दुईबटा ‘सेक्सन’ सञ्चालनमा रहेको छ, ए सेक्सनमा ४५ जना र बी सेक्सनमा ५७ जना गरी कुल १ सय २ जना विद्यार्थी अध्ययनरत छन् । तर, साइकल १ सय १४ जनालाई वितरण गरिएको छ । 

बिहीबार एक समारोहकाबीच मुख्यमन्त्री लालबाबु राउतले सकल भवन कन्या माविका कक्षा ८ मा अध्ययनरत १ सय १४ जनालाई साइकल वितरण गरेको हो । विद्यालयले मुख्यमन्त्री कार्यालयमा उपलब्ध गराएको विद्यार्थी संख्या अनुसार अभियान अन्तर्गत साइकल उपलब्ध गराइएको थियो । 

विद्यालय व्यवस्थापकले १ सय १७ वटा विद्यार्थीमा मात्र प्रदेश सरकारले १ सय १४ वटा साइकल उपलब्ध गराएकोले समस्या भइरहेको बेला सोधखोज गर्दा फर्जी विद्यार्थीहरुको नामावली पेश गरी साइकलमा अनियमितता भएको पाइयो । 

विद्यालयमा कुल कति जना विद्यार्थी अध्ययनरत छन् हाजिरी रजिष्टर देखाउन भन्दा प्राधानाध्यापक मोदनारायण यादवले कार्यक्रममा व्यवस्तता रहेको भन्दै देखाउन मानेन् । पछि पत्रकारका दबावपछि वितरण गर्न लागिएको संख्यामा थप ३ जना गरी १ सय १७ जनाको विद्यार्थीहरुको नामावली देखाएर यति विद्यार्थी अध्ययनरत हुन भनी झुक्याउन प्रयास गरेका थिए । 

कार्यक्रम पश्चात साइकल प्राप्त गर्ने विद्यार्थीहरुसँग सोध्दा कक्षा ८ को “ए” सेक्सनमा ४५ जना र “बी” सेक्सन ५७ जना अध्ययनरत रहेको बताए । 

 

छात्रा प्रियाकुमारी कापरले जनाएअनुसार विद्यालयमा नाम लेखाएका मध्ये दुवै सेक्सन मिलाएर मुस्किलले ५०÷६० जना क्लास गर्न नियमित रुपमा आउन्छन् । नाम लेखाएका मध्ये २५÷३० जना विद्यार्थी निजी विद्यालयमा समेत अध्ययनरत रहेका छन, जुन कहिलेपनि क्लास गर्न आउँदैन् । 

नन्दी कुमारी यादवले भनिन्, ‘विद्यालयमा दुवै सेक्सन मिलाएर कुल ९० जना अध्ययनरत छन् । तर, छात्रालाई साइकल दिइने हल्ला चलेपछि केही विद्यार्थीको नामावली हाजिरी रजिष्टरमा इन्ट्री गरियो । रजिष्टरमा नाम देखिएपनि उनीहरु अहिलेसम्म क्लास गर्न आएका छैन ।’

साइकल वितरण कार्यक्रममा पनि मुश्किलले ६०÷६५ जना विद्यार्थी उपस्थित थिए । विद्यालय व्यवस्थापकसँग जिज्ञासा राख्दा भने, ‘केही विद्यार्थी अनुपस्थित छ पछि विद्यालय आएपछि उनीहरुलाई साइकल हस्तान्तरण गर्नेछु ।’ 

संख्यामा केही तलमाथि भएको हो : प्रअ यादव

विद्यार्थी संख्याभन्दा बढी साइकल भित्र्याएर विद्यालयले अनियमितता गरेको भन्ने जिज्ञासामा विद्यालयका प्रधानाध्यापक मोदनारायण यादवले घुमाउरो पारामा गलती स्वीकार्दै भने, ‘सुरुमा कम विद्यार्थी थियो । तर, रिजल्ट ढिलो आएको कारण केही फेल भएका विद्यार्थीहरुको नामावली समेत समावेश गर्दा संख्यामा तलमाथि हुन गएको हो ।’ 

द नेपालटपले विद्यार्थीसँग सोध्दा ९० जना विद्यार्थी मात्र छन् भनेर सोध्दा उनीहरुले भने,  ‘विद्यार्थीहरुले तपाईहरुलाई दिएको जानकारी र विद्यालय रेकर्डमा एक महिना भित्र समेत केही विद्यार्थीको नामाङ्कन भएको छ जुन कार्य व्यवस्तताले क्लास गर्न नियमित रुपमा नआएको कारण उपस्थिति देखिएको छैन ।’ 

श्रोतका अनुसार विद्यालयका शिक्षक-शिक्षिका र केही राजनीतिक दलका प्रतिनिधिहरुका लागि फर्जी नामावली पेश गरी विद्यार्थी संख्याभन्दा बढी साइकल भित्र्याइएको हो । प्रदेशका राजधानी जनकपुरधाममा पहिलो विद्यालय हो सकल भवन कन्या मावि जसमा बिहीबार साइकल वितरण गरिएको हो । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं. २ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।.जस अन्तर्गत पहिलो चरणमा ४ हजार छात्रालाई साइकल वितरण गरिनेछ । 

मुख्यमन्त्रीको नामै थाहै छैन छात्रालाई

मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सकल भवन कन्या माविका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरियो । तर, ती छात्राहरुलाई मुख्यमन्त्रीको नामै थाहा नभएको देखियो । 

कार्यक्रम सम्पन्न पश्चात साइकल प्राप्त गरेका छात्राहरुसँग प्रदेशका मुख्यमन्त्रीको नाम के हो भनेर सोध्दा अधिकांशले नामै थाहा नभएको बताए । केहीले बताएका मध्ये कोही रामबाबु राउत त कोहीले लालबाबु गजुरेल त केहीले लालबाबु गद्दी बताए ।

 कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई प्रदेशका मुख्यमन्त्रीको नाम थाहा नहुनु सो विद्यालयको शैक्षिक गुणस्तरीयता कस्तो हुन भन्ने कुरा स्पष्ट हुन्छ । प्रदेश २ को शैक्षिक गुणस्तरीयता कमजोर हुनुमा सरकारभन्दा बढी विद्यालय नै दोषी रहेको प्रष्ट हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्