अम्बे स्टील्सले एक महिनाभित्रमा ३५ मेगावाट विद्युत पाउने



काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ। प्राधिकरणले अहिले उक्त उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ। उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाट विद्युत दिन लागेको हो।

उद्योगसम्म विद्युत पुर्याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्याएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेकाे छ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्काे भ्रमण गरी एक महिनाभित्र विद्युत आपुर्ति लिने गरी आफूले गर्नु पर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ। ‘विद्युत खपत बढाउन उद्योगहरूलाई मागेजति विद्युत दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस्