निर्वाचनमा होमियो कांग्रेस



काठमाडौं । निर्वाचनको मितिभन्दा ठीक २ महिना अघिदेखि नेपाली कांग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको छ । निर्वाचन लक्षित कार्यक्रमको तालिका नै बनाएर कांग्रेस निर्वाचनमा होमिएको हो ।

सत्ता गठबन्धनबारे प्रष्ट धारणा सार्वजनिक नगरेको कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नाम दिइएको १ महिने घरदैलो अभियान आइतबारबाट सुरु गरेको छ । अभियानका लागि गत सातादेखि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएका छन् ।

अमेरिकी सहायता परियोजना (एमसीसी) प्रकरणबारे देशव्यापी रूपमा भइरहेको आलोचना चिर्न र पार्टी पंक्तिलाई प्रशिक्षित गर्दै निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन केन्द्रीय प्रतिनिधि खटिएका छन् । पार्टीका पक्षमा जनमत जुटाउन र अन्य पार्टीले कांग्रेसबारे चलाएका भ्रम चिर्न केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू परिचालन भइसकेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले बताए ।

‘कांग्रेसले विगतमा के गर्‍यो, अब के गर्छ, किन कांग्रेसविरुद्ध भ्रम फैलाउने काम गरियो भनेर हामीले जिल्ला र पालिका तहमा अभियान चलाउँदै छौँ’, उनले द नेपालटपसँग भने, ‘हामीलाई नै किन भोट हाल्ने भनेर हरेक पालिका तह पुगेर प्रष्ट्याउनेछौँ ।’पार्टीले विगतमा गरेका कमी कमजोरीको समीक्षा गर्दै जनगुनासो सम्बोधन गर्न घरदैलो अभियान जरुरी भएको पोखरेलले बताए । उनले भने, ‘कांग्रेस किन राम्रो भनेर स्पष्ट बहस गर्न सक्ने पार्टीका शुभेच्छुक तयार गर्न हामी जुटेका छौँ ।’

स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले पोखरेललाई धादिङमा खटाएको छ । ३ फागुनमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनमा पार्टीलाई अब्बल बनाउन एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानका क्रममा अनुशिक्षण, घरदैलोलगायतका कार्यक्रम वडा र टोलटोलमा पुर्याउन पार्टीले निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचनपछिका कार्यक्रम र एजेण्डालाई हरेक पालिकाले आफ्ना घोषणापत्रमा समेट्ने बताइएको छ । केन्द्रले दिने सुझाव भन्दा पनि स्थानीय तहमा आवश्यकता बोध भएका र पार्टीका क्रियाशील सदस्यहरूका सुझावलाई समेटेर घोषणापत्र तयार गर्ने तयारी छ ।

विगतमा पार्टीले हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धि वडा र टोल तहमा पु¥याउन केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिइएको छ । स्थानीय तहको प्रचारलाई परिणाममुखी बनाउन वडा र पालिका केन्द्रित संयन्त्र बनाउने, एउटा वडा र अर्कै पालिकाका कार्यकर्तालाई अन्यत्र नखटाउने केन्द्रले जिल्ला र क्षेत्रलाई निर्देशन दिएको छ ।

पहिलो पटक मतदाता बनेका, भर्खरै अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकालाई केन्द्रीय, प्रदेश, जिल्ला र क्षेत्रीय प्रतिनिधिहरूले प्रशिक्षण दिनेछन् । स्थानीय तहमा अधिकतम युवालाई परिचालन गर्न कांग्रेसले यसअघि ‘एक बुथ, हन्ड्रेड युथ’को नारा सार्वजनिक गरिसकेको छ ।

यसरी चयन हुनेछन् उम्मेदवार
यस पटकको स्थानीय तहको निर्वाचनमा हरेक तहबाटै उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ । वडामा वडा समितिलाई, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्य गाउँपालिका समितिलाई र नगरपालिकामा उम्मेदवार छान्ने अधिकार नगर कार्यसमितिलाई तोकिएको छ ।

उपमहानगर र महानगरपालिमा भने केन्द्रबाटै उम्मेदवारको टुंगो लाग्ने नेता पोखरेलले बताए । ‘उपमहानगर र महानगरमा पनि अन्यत्र जस्तै सम्बन्धित नगर समितिले सिफारिस गरेका आधारमा पार्टीले उम्मेदवार छान्ने हो, केन्द्रबाट सिधै हस्तक्षेप गर्ने भन्ने होइन ।’

अहिलेको घरदैलो अभियान सङ्गठन विस्तार र पार्टीमा बढी समर्थक जुटाउन केन्द्रित हुने भएकाले वैशाख पहिलो सातापछि मात्र उम्मेदवारको टुंगो लाग्ने उनको भनाइ छ ।

गठबन्धनको टुंगो एक महिनापछि
जिल्लामा खटाइएका प्रतिनिधि फर्किएपछि मात्र अन्य दलसँगको सहकार्यबारे टुंगो लगाउने कांग्रेसको रणनीति छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म जाने बताइरहेका छन् ।

उपाध्यक्ष पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत दोस्रो तहका नेताहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको गठबन्धनको विकल्पमा पनि अघि बढ्न सकिने धारणा राख्दै आएका छन् । तर, एक महिने निर्वाचन अभियान घोषणा भएपछि दोस्रो तहका नेताहरू जिल्ला र पालिका तहबाट आएका सुझावका आधारमा गठबन्धन बनाउनुपर्ने पक्षमा जोड दिन थालेका छन् ।

अहिले नै गठबन्धनबारे धारणा बनाउन हतार हुने भएकाले पार्टी नेतृत्वले यो र त्यो दलसँग सहकार्य गर्ने भनेर निर्णय नगरेको केन्द्रीय सदस्य पोखरेलले बताए । १ महिने अभियान सकिएपछि मात्र पार्टीले प्रष्ट धारणा बनाउने बताउँदै उनले भने, ‘कांग्रेस निर्वाचनमा एक्लै लड्छ, लड्नुपर्छ भनेर हामी अघि बढिसकेका छौँ । गठबन्धन प्राविधिक विषय हो, कुन ठाउँमा कसरी अघि बढ्ने भनेर पछि निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्