गीतमा कुनै राजनीतिक पूर्वाग्रह राखेको छैन : प्रकाश सपुत



काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीत कुनै पनि राजनीतिक पूर्वाग्रह राखेर नल्याएको बताएका छन् । सशस्त्र युद्धमा सहभागी पूर्व लडाकूको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का भ्रातृ संगठनले गायक सपुतको गीतको आलोचना गरिरहेका छन् । उनीहरूले यो गीत हटाउन माग गरेका छन् ।

राजनीतिक रूपमा पूर्वाग्रह राखेर गीत ल्याइएको माओवादी कार्यकर्ताले आरोप लगाइरहेका वेला गायक सपुतले आफ्नो त्यस्तो नियत नभएको प्रष्ट्याएका हुन् । पूर्व लडाकूले भोगेको पीडा मात्रै उठाउन खोजेको उनले बताएका छन् ।

“म करीब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिए,” गायक सपुतले भने, “संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु ।”

माओवादी सशस्त्र युद्धकै जगमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको उजागर गर्न खोजेको उनले बताएका छन्। “पीरले युद्धकै जगरबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको। समानताको लागि सँगै लडेका कमरेडहरू बीचमा बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको,” सपुतले भने, “प्रतीकात्मक रूपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा सच्चा कमरेडको कथा हो, पीर ।”

आफ्नो पूर्व गीतहरू जस्तै गीतका रूपमा मात्रै ल्याएको उनले बताएका छन् । “सबैमा सबै खाले क्षमता हुदैन। मभित्र राजनीतिक चेत छ, तर त्यति धेरै राजनीतिक विश्लेषण गर्ने क्षमता राख्दिनँ,” उनले प्रस्ट्याउँदै भने, “जसरी अघिल्ला गीतहरू बोल माया, दोहोरी ब्याटल, गल्बन्दी, बदला बरिलै, फुटेका चुरा, मेरो पनि हैन र यो देश, कुरा बुझ्न पर्छ गीतहरूमा कथा बुन्थे, पात्र बनाउथे, टुक्का टिप्थे, लय हाल्थे र रेकर्डरछायाङकन गर्थे। यसमा पनि सेम टु सेम त्यहि प्रक्रिया छ ।”

यस गीतमा प्रस्तुत गरिएका पात्रका विषयमा अध्ययन गरेको भए पनि यसमा आउनसक्ने प्रक्रियाका विषयमा अनुमान गर्न नसकेको उनको भनाइ छ। “यो बीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । तर, यस्ता विषय उठान गर्दा आउने राजनीतिक दबाबको केही अनुमान गरे पनि गीत हटाउनेसम्मकै आकलन गरेनछु,” उनले भने, “यसलाई ग़लत व्याख्या गरिन्छ र निरुत्साहित गर्न खोजिनेछ भन्ने कुराको हेक्का राखेनछु ।”

उनले पूर्व लडाकू प्रतिकात्मक दृश्यका विषयमा भने आत्मआलोचित भएको जनाएका छन्। “अली बढि कोट्याइएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रूपमा राखिएको दृष्यहरूले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरा मैले महशुस गरेँ,” गायक सपुतले भने, “म यसमा भने आत्मालोचना गर्छु ।”

आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि यस गीतलाई सहज र स्वाभाविक रूपमा लिन आग्रह गरेका छन् । उनले धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “यसका कारण यो विषय (प्रकाश सपुतको गीतमा) मेरो विचारमा अहिले हामी उत्तेजित कोही हुनुपर्ने छैन । तर्क-वितर्क हुन्छन् । पक्ष-विपक्ष हुन्छ, त्यसलाई सहज, स्वाभाविक रूपले लिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्