बागमती प्रदेश खेलकुद : फुटबलमा मकवानपुर र रामेछाप विजयी



हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप र मकवानपुरले विजयी भएका छन् । रामेछापले सिन्धुपाल्चोकलाई र मकवानपुरले नुवाकोटलाई हराएका हुन् ।
रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरे ।
सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका गोलरक्षक युवराज तामाङ म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई ३–० ले पराजित ग¥यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मकवानपुरका समिराज थोकरले ६०औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि सुदीप सापकोटाले ७८ र ८३ औं मिनेटमा गोल थपे । खेलको म्यान फ द म्याच मकवानपुरका सुदीप सापकोटा घोषित भए ।
प्रतियोगितामा मंगलबार सिन्धुली र काठमाडौं र भक्तपुर र रसुवाबीच खेल हुनेछ । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको छ ।
यस्तै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन र ललितपुर फाइनल प्रवेश गरेका छन् । सोमबार विहान भएको क्वार्टरफाइनल र सेमिफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो ।
चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । पुरुषतर्फको फाइनल मंगलबार हुनेछ ।
महिलातर्फ भने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
यसैगरी चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिलातर्फको खेलमा काठमाडौं विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७ दशमलब ३ ओभर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले बिना विकेटको क्षतिमा २.३ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ६१ रनमा अलआउट भयो ।
मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेटतर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । पुरुष तर्फको खेल भने २ चैतदेखि हुनेछ ।
यस्तै प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि चितवनको माडी खेलकुद मैदानमा भलिबल खेल सुरु भएको छ । मकवानपुरमा ५ चैतदेखि तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ ।
सिन्धुपाल्चोकमा ७ चैतदेखि कराँते खेल हुनेछ भने काठमाडौंमा ६ चैतदेखि एथ्लेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा ७ चैतदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्