जसपाबाट उम्मेदवार बन्न ७ वटा मापदण्ड, यसरी बाँडिन्छ टिकट



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को बैठकले स्थानीय तह निर्वाचनमा कस्ता उम्मेदवारलाई टिकट दिने मापदण्ड बनाएको छ। काठमाडौंको कालिकास्थानमा सुरु भएको केन्द्रीय समितिको बैठकबाट आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारबारे ७ वटा मापदण्ड तयार पारिएको जसपा कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले जनमनरी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन निर्देशिकामा आसन्न चुनावमा कसरी सहभागी हुने भन्नेबारे विस्तृत खाका तयार पारिएको छ। सामाजिक छवि धुमिल भएका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था निर्देशिकामा छ। पारित भएको स्थानीय तह निर्वाचन निर्देशिकामा उम्मेदवारबारे पहिलो प्राथमिकतामा पार्टीको नीति, सिद्धान्त आत्मसात् गर्ने व्यक्तिलाई टिकट दिने व्यवस्था छ। दोस्रो प्राथमिकतामा पार्टी समितिमा सङ्गठित÷सक्रिय रहने व्यक्तिलाई राखिएको छ भने तेस्रोमा सामाजिक कार्यमा समर्पित व्यक्तिलाई मात्र टिकट दिइने उल्लेख छ । यसैगरी त्यसपछिको प्राथमिकतामा स्वच्छ सामाजिक छवि भएको व्यक्तिलाई राखिएको छ भने पाँचौँ नम्बरमा विजय प्राप्त गर्न सक्ने व्यक्तिलाई मात्र टिकट दिने व्यवस्था गरिएको छ।

सम्बन्धित गाउँ/नगर/वडाको वस्तुस्थिति बुझेकालाई छैटौँ प्राथमिकता दिइएको छ भने अन्तिममा सुशासन प्रत्याभूति दिलाउन सक्ने व्यक्तिलाई प्राथमिकतामा राखिएको छ। कार्यकारिणी समिति सदस्य सुवेदीका अनुसार यी मापदण्ड पूरा गर्ने व्यक्तिलाई नै टिकट दिने रणनीति तय गरिएको छ। केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकासँगै समसामयिक राजनीतिक प्रतिवेदन पनि प्रस्तुत भएको जसपा नेता मनीष सुमनले बताए। जसपा नेताहरू नवराज सुवेदी, मनीष सुमन र हिसिला यमीले स्थानीय तह निर्वाचन निर्देशिका तयार पारेका थिए। यसैगरी दोस्रो दिन चलेको बैठकमा विधान अधिवेशनबारे छलफल भएको थियो ।

आगामी १ असारमा विधान अधिवेशन गर्ने तयारीबारे छलफल भएको पूर्वमन्त्री इस्तियाक राईले जनाए। यसैगरी सङ्गनाठत्मक प्रस्ताव, समायोजनमा विवाद भएको ठाउँमा १० चैतसम्म विवाद सल्टाउने जिम्मेवारी कार्यकारिणी समितिलाई दिइएको पूर्वमन्त्री राई बताउँछन्।
यसरी हुन्छ उम्मेदवार छनोट
जसपा बैठकले आसन्न चुनावमा वडास्तरसम्मको टिकट जिल्लास्तरबाटै निर्देशिकामा उल्लेख गरेको छ। जटिलता आए त्यसको माथिल्लो तहबाट समन्वय गरेर छिनोफानो लगाउने व्यवस्था छ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगर र उपमहानगरका प्रमुख/उपप्रमुख पदको उम्मेदवारी पालिका स्तरको पार्टी कमिटीले छनोट गर्नेछ।

त्यहाँ सहमति नजुटे जिल्ला समव्य समितिमा पठाउनुपर्नेछ। त्यहाँ पनि सहमति नभएमा प्रदेशको कार्यकारिणी समितिले टुंगो लगाउने निर्देशिकामा उल्लेख छ। महानगरपालिकाको उम्मेदवारको छनोट भने केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीबाट हुने निर्वाचन निर्देशिकामा उल्लेख छ। महानगरपालिकाको प्रमुख÷उपप्रमुख पदको उम्मेदवारी छनोटको प्रश्न अतिजटिल बनेर प्रदेशले टुंगो लगाउन नसकेमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीलाई हुनेछ।
भुइँमै बसेर सुरु भयो बैठक
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको जसपाको झण्डै ६ महिनापछि केन्द्रीय समितिको बैठक बस्यो । दोस्रो पटक बसेको बैठकमा भिन्न र रोचक दृश्य देखियो । राजधानीमा चलिरहेको केन्द्रीय समितिको बैठकमा केही परिवर्तन भएको दृश्य देखियो । सबै शीर्षस्थ नेताहरू भुइँमै लहरै बसेका थिए, जुन दृश्य अहिले चर्चाको केन्द्र बनेको छ ।

आन्तरिक विवाद चरममा रहेका बेला पार्टी नेतृत्वबाट भएको यो प्रयास विवाद मत्थर पार्नका लागि मात्र नभई नेतृत्व एक कदम पछाडि हटेको सन्देश पनि भएको जसपाका एक नेता बताउँछन् । पार्टीमा सबैको समान हैसियत रहेको जनाउ दिन अध्यक्षबाट यो पहल कदमी भएको उनको भनाइ छ ।

केन्द्रीय समिति बैठकको दृश्यमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, मन्त्रीसमेत रहेका नेताहरू राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव पहिलो लाइनमा भुइँमा बसेका देखिए भने दोस्रो पंक्तिमा भने मन्त्री रेणु यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, हिसिला यमीलगायत दोस्रो तहका नेताहरू थिए ।

प्रतिक्रिया दिनुहोस्