पीएम कप महिला भलिबल प्रतियोगितामा युक्यानको साथ



काठमाडौं । सगरमाथा सिमेन्ट प्रधानमन्त्री (पीएम) कप महिला भलिबल प्रतियोगितामा युक्यानले साथ दिने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएलले प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ ।

सिटिएलका प्रबन्धनिर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ । सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ । नेपाली भलिबलको सर्वाधिक धनराशी पुरस्कार रहेको प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी व्यक्त गरे ।

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताए । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ ।

आठौं संस्करणको प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा चैत १० देखि १४ गते सम्म हुनेछ । प्रतियोगिताको आयेजना बाँके जिल्ला भलिबल संघ रहेको छ । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।

प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्