राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने चैत १४ बाट



कैलाली । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताए ।
गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाइएको बताइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागतरुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ । खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्