झापामा पहिलो पटक सुपर लिग क्रिकेट हुँदै



झापा । अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन लागेको छ । लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सन्दर्भमा वैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीले मङ्गलबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रूपैयाँ खर्च हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।
प्रतियोगितामा खेलाडी छनोट अक्सनमार्फत हुने र अक्सनको अनलाइन फारम मङ्गलबार खोलिएको छ । क्रिकेटलाई व्यावसायिक रुपमा विकास गर्न यस्तो खालको प्रतियोगिता जिल्लामै पहिलो पटक गर्न लागेको अध्यक्ष विकेले बताए ।
प्रतियोगितामा ५ टिम सहभागी हुने छन् । हालसम्म ४ वटा टिमको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा प्रवीण अग्रवालको धुलाबारी टाइगर्स, अर्पण राईको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईँको विराट वारियर्स र शोभित बास्तोलाको बोस्टन इगल्स टिम टुङ्गो लागिसकेको उनले बताए । टुङ्गो लागिसकेका टिमका सञ्चालकलाई आयोजक समितिले पत्रकार सम्मेलनमै पोशाक वितरण गरेको छ ।
प्रतियोगितामा प्रत्येक टिमले अक्सनमार्फत राष्ट्रिय स्तरका एक खेलाडी प्रदेश स्तरका २ खेलाडी र जिल्लाभित्रका बाँकी खेलाडी खरिद गर्नुपर्ने हुन्छ । खेलाडी छनोटमा एउटा टिमले बढीमा ६० हजार रूपैयाँसम्म खर्च गर्न नियम राखिएको छ ।
प्रतियोगितामा मार्की खेलाडीलाई ५ देखि ८ हजारसम्मको बोली लगाउन पाइनेछ भने ए लेभलको खेलाडीलाई ४ देखि ५ हजारसम्म, बी लेभलका खेलाडीलाई ३ हजारदेखि ४ हजार ५ सयसम्म र सी लेभलका खेलाडीलाई २ हजारदेखि ३ हजार ५ सयसम्म बोली लगाएर खरिद गर्न पाउनेछ ।
इमर्जिङ प्लेयरलाई १ हजार ५ सयदेखि २ हजार ५ सयसम्मको बोली लगाउन पाइनेछ । खेलाडीलाई अक्सनमार्फत खरिद गर्दा २ वा सो भन्दा बढी टिमले एउटै बोली लगाएको खण्डमा टसमार्फत खेलाडी खरिद गर्ने प्रावधान राखिएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद २ लाख ११ हजार र उपविजेता टिमलाई नगद १ लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको वेस्ट बलरले १० हजार, वेस्ट प्लेयरले १५ हजार, वेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
खेलाडीले हानेको छक्का मैदान बाहिर क्याच गर्ने खेलप्रेमी वा दर्शकलाई १ हजार ५ सय रूपैयाँले पुरस्कृत गरिनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीसमेत आउने र प्रतियोगिता भव्य हुने आयोजक समितिको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्