काेपा अमेरिका जित्ने मेस्सीकाे सपना तुहियाे, ब्राजिलसँग नमिठाे हार



लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको सेमिफाइनल खेलमा पाहुना टोली अर्जेन्टिनालाई २–० ले स्तब्ध बनाउँदै ब्राजिल फाइनल पुगेकाे हाे। यससँगै देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको सपना पुनः एकपटक चकनाचुर भएको छ।

मिनेराओ रंगशालामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि खेलभरि पकड जमाउँदै निर्धारित ९० मिनेटमै नतिजा निकाल्न सफल भएको हो। ब्राजिलले पहिलो र दोस्रो हाफमा गरी १–१ गोल गरेको थियो । उसका लागि पहिलो गोल १९ औं मिनेटमा ग्याब्रिएल जेससले गरेका थिए। बक्सभित्र रोवर्टो फर्मिन्होले दिएको क्रस पासमा अनमार्क रहेका जेससले सहजै गोल गरेका थिए।

त्यसपछि अर्जेन्टिनाले खेल बराबरी गर्ने एक सुनौलो मौका बनाएको थियो। करिब ३० यार्ड दूरीबाट कप्तान मेस्सीले हानेको फ्रि किकमा सर्जियो अगुएरोको हेडिङ बल बारमा लागेर फर्किंदा अर्जेन्टिना खेल बराबरी गर्नबाट चुकेको थियो।

दाेस्राे हाफकाे २६ मिनेटमा ब्राजिलका राेबर्टाे फिर्मिनाेले आकर्षक गाेल थप्दै ब्राजिलकाे जित पक्का गरे।

प्रतिक्रिया दिनुहोस्