स्थानीय चुनाव : तालमेलबारे अन्योलमा मधेसकेन्द्रित दल



काठमाडौं । स्थानीय तह निर्वाचनमा कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे मधेसकेन्द्रित दलहरू अन्योलमा देखिएका छन्। पहिलो दल बन्ने योजनाका साथ दलहरू चुनावी मैदानमा उत्रिन तयारी गरिरहेका बेला मधेस केन्द्रित दलहरू भने तालमेल कोसँग र कसरी गर्ने भन्नेमै अन्योलमा छन् ।

अधिकांश दलहरूले आफ्ना एजेन्डा र अन्य दलसँग गर्ने गठबन्धनबारे पार्टीमा छलफल चलाइरहेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाहेक मधेसकेन्द्रित दलहरू जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी पनि निर्वाचनको तयारीमा जुटेका छन्।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि मधेसमा मधेस केन्द्रित दलहरूको वर्चस्व बढेकाले आसन्न निर्वाचनमा पनि त्यहीअनुरूप आफ्नो सफलता हासिल गर्ने मधेसकेन्द्रित दलहरूको योजना छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबारे कुनै टुंगो नलागेको मधेसकेन्द्रित दलहरूको भनाइ छ ।
केन्द्रबाट हस्तक्षेप नगर्ने पक्षमा जसपा
जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म चुनावी गठबन्धनबारे टुंगो नलागेको बताए । अहिले गठबन्धन भन्दा पनि निर्वाचनमा पार्टीलाई मजबुत बनाउने काम मात्र भइरहेको उनले बताए। उनले भने, ‘निर्वाचन एकदम नजिक छ, हामी पनि चुनावी तयारीमै छौँ। पार्टीलाई बलियो बनाउने काम अहिले भइरहेको छ, त्यसैले गठबन्धनबारे अहिले केही पनि सोचिएको छैन।’

उनका अनुसार जसपाले स्थानीय स्तरमै तालमेल गर्ने÷नगर्ने जिम्मा दिने तयारी गरिरहेको छ। ‘यो स्थानीय तहको निर्वाचन हो, त्यही कारण तालमेल पनि स्थानीयस्तरबाटै हुनुपर्छ । किनकि कहाँ कसले जित्छ, त्यसको लेखाजोखा स्थानीय नेतालाई नै हुन्छ’, यादव भन्छन्, ‘स्थानीय तह निर्वाचनमा ठाउँअनुसार फरकफरक दलसँग तालमेल हुने धेरै सम्भावना छ ।’
लोसपा भन्छः एक्लै भिड्न सक्छौँ
आसन्न निर्वाचनमा अर्को मधेसकेन्द्रित दल लोसपाको पनि अवस्था उस्तै छ । लोसपा अहिले चुनावी गठबन्धन भन्दा पनि सङ्गठन विस्तार गर्ने काममा जुटेको लोसपा नेताहरू बताउँछन्। लोसपा सांसद एकबाल अहम्मद शाहले अहिले पार्टीमा प्रशिक्षण कार्यक्रम, अगुवा कार्यकर्ता भेटघाट, वडा/पालिका/क्षेत्र र जिल्ला कमिटी विस्तार गर्ने सर्कुलर मात्र जारी भएको जनाए।

यसको अलावा भ्रातृ सङ्गठन पनि विस्तार गर्ने अहिले तयारी चलिरहेको उनी बताउँछन्। लोसपा सांसदसमेत रहेका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनमा कुनै गठबन्धन नहुने बताए । उनले भने, ‘यो निर्वाचनमा हामी एकलै लड्छौँ, त्यहीअनुसार तयारी पनि भइरहेको छ । त्यही कारण हामी एक्लै निर्वाचन लड्ने धेरै सम्भावना छ ।’

माथिल्लो स्तरबाट पनि अन्य दलसँग चुनावी तालमेल गर्ने भन्ने बारेमा कहीँ कतै छलफल पनि नभएको उनी बताउँछन् । उनले भने, ‘यदि स्थानीय स्तरमा तालमेल भयो भने हुन्छ नत्र भने अरूसँग केन्द्रीयस्तरबाट तालमेल हुँदैन ।’ उनका अनुसार लोसपा अहिले निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा जुटेको छ ।
जनमतको पहिलो ‘इन्ट्री’
शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा आएको जनमत पार्टी पनि पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुने तयारीमा छ। उसले मधेसका विभिन्न जिल्लामा निर्वाचन लक्षित प्रशिक्षण र कार्यक्रमहरू सुरु गरेको छ।

पार्टी बैठकबाट निर्वाचनमा जाने निर्णय गरेको जनमत पार्टीले विगतमा आफूले उठाउँदै आएका किसानका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रचारमा जाने तयारी गरेको सो पार्टीका एक नेता बताउँछन् । उनका अनुसार पार्टीले अहिलेसम्म कुनै दलसँग तालमेल गर्ने विषयमा छलफल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्