विद्युत्  व्यापार : ३८ मा किनेर १० रुपैयाँमा बिक्री



काठमाडौं । भारतबाट विद्युत् खरिद गरेर बिक्री गर्दा नेपाल विद्युत् प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँ व्यायभार थपिने भएको छ। भारतीय बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा खरिद गरी नेपाली बजारमा ९ रुपैयाँ ९४ पैसामा बिक्री गर्दा प्राधिकरणलाई उक्त व्यायभार थपिने भएको हो ।

भारतमा ऊर्जा संकट बढेकाले नेपालमा आपूर्ति हुने विद्युत्को मूल्य उच्च रहेको छ। प्राधिकरणले अहिले प्रतियुनिट २० भारतीय रुपैयाँमा खरिद गर्न प्रस्ताव गरेको छ । चुहावट र प्रशासनिक खर्च जोड्दा प्रतियुनिट ३८ रुपैयाँ पर्ने आकलन प्राधिकरणको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्यमान विद्युत् समस्या अझै डेढ महिनासम्म लम्बिन सक्ने देखिन्छ। प्राधिकरणले प्रचलित दर भाउमा विद्युत् खरिद गर्नका निम्ति मूल्य तिर्नुपर्दा आगामी ३५ दिनमा ८ अर्बभन्दा बढी भार बेहोर्नुपर्ने भएको छ।

भारतीय बजारभित्रै ऊर्जाको माग उच्च रहेको र कोइलाको मूल्य पनि उच्च रहेको तथा रुस–युक्रेन युद्धका कारण इन्धन आपूर्ति र मूल्यमा उतारचढाब हुँदा भारतले पर्याप्त मात्रामा नेपालमा विद्युत् निर्यात गर्न सकेको छैन। दिउँसोमा सोलार प्लान्टबाट उत्पादित विद्युत्लाई नेपालमा पठाएको भए पनि रातको समयमा नेपालमा पठाउने विद्युत् अभाव देखिएको छ। नेपालमा दैनिक करिब ३१ हजार मेगावाट आवर विद्युत् खपत हुँदै आएको छ । त्यसमध्ये भारतबाट दैनिक १२ हजार मेगावाट आवर विद्युत् आयात हुने गरेको छ। तर, भारतबाट नियमित विद्युत् आपूर्ति हुने टनकपुर र विहारबाहेकका क्षेत्रबाट आपूर्ति रोकिँदा नेपाललाई दैनिक झन्डै ७ हजार मेगावाट आवर विद्युत् अभाव हुने गरेको छ। जसलाई ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत नेपालले महँगो दरमा विद्युत् खरिद गर्न प्रस्ताव गरेको छ। २४ घण्टालाई १५–१५ मिनेटमा वर्गीकरण गरी ९६ वटा ब्लक बनाएर बोलकबोलमार्फत विद्युत्को मूल्य प्र्रस्ताव गरिँदै आएको छ।

मंगलबार र बुधबार प्राधिकरणले १२–१५ भारतीय रुपैयाँ राखेर बोलकबोलमा भाग लिएको भए पनि उक्त मूल्यमा विद्युत् उपलब्ध हुन नसक्दा प्र्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको थियो। शुक्रबारका लागि भने प्र्र्राधिकरणले २० भारतीय रुपैयाँमा लिन प्रस्ताव गरेको छ। प्राधिकरणले ग्राहकको विश्वसनीयता जित्नका लागि महँगोमा विद्युत् किनेर सस्तोमा बिक्री गरेकाले प्र्राधिकरणको नोक्सानलाई सरकार र उद्योगीहरुले विचार गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ। उनले विद्युत् कुल गार्हस्थ्य उत्पादनसँग पनि जोडिएको हुँदा औद्योगिक उत्पादन वृद्धि गर्नका निम्ति अहिले महँगोमा किनिएको बताए। उनले विगतमा २–३ रुपैयाँ प्रतियुनिटमा पनि भारतबाट विद्युत् खरिद गरिएको उल्लेख गर्दै अहिले पनि टनकपुर, विहार र उत्तराखण्डबाट सस्तोमा विद्युत् खरिद भइरहेको दाबी गरे।

उनले यस वर्ष करिब १० अर्बको विद्युत् खरिद हुने अनुमान गरिएको बताए। प्राधिकरणका अनुसार टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६८ पैसा, विहारबाट ६ रुपैयाँ १८ पैसा र उत्तराखण्डबाट ७ रुपैयाँ ११ पैसा भारतीय रुपैयाँमा विद्युत् आयात भइरहेको छ। प्र्राधिकरणले अहिले घरेलु ग्राहकलाई ८ रुपैयाँ ८७ पैसा र औद्योगिक ग्राहकलाई १० रुपैयाँ १२ पैसा गरी समग्रमा औसत ९ रुपैयाँ ९० पैसामा विद्युत् बिक्री गर्दै आएको छ। प्राधिकरणले मासिक ७ अर्बको विद्युत् बिक्री गर्दा औद्योगिक ग्राहकले २ अर्ब ९० करोड रुपैयाँ महसुल भुक्तानी गर्दै आएका छन्।प्राधिकरणका कुल ४६ लाख ५८ हजार ग्राहकमध्ये घरेलु ग्राहकको संख्या ४३ लाख, सिँचाइ ग्राहकको संख्या १ लाख ८१ हजार र औद्योगिक/व्यापारिक ग्राहक ६८ हजार १०५ रहेका छन्।

प्राधिकरणको कुल विद्युत् खपत् घरेलु ग्राहकले २७० गिगावाट आवर र औद्योगिक ग्राहकले २९० गिगावाट आवर रहेको छ । भारतमा विद्यमान ऊर्जा संकट बढ्दै गए असारपछि नेपालले फाइदा लिनुपर्ने घिसिङको भनाइ छ। उनका अनुसार असारपछि नेपालमा विद्युत् बढी भई खेर जाने अवस्था आउँछ, त्यो बिजुली भारतमा महँगो दरमा बेच्नुपर्न अवस्था आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्