चीनमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा



काठमाडौं : एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले शानदार सुरुवात गरेको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै सुखद सुरुवात गरेको हो। जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

समूह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो। चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ‘ए’ का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन्। चीन भने प्रतियोगिताबाट बाहिरिएको छ। अब समूह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन्। सोही खेलले समूह विजेताको टुंगो लगाउनेछ।

चीनले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। नेपालका लागि पवन सर्राफले २१ बलमा ६ चौका र ३ छक्कासहित नटआउट ४६ र रित गौतम १० बलमा १ चौंकासहित १० रनमा अविजित रहे।

त्यसअघि क्वालालम्पुरस्थित किरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चीनले २३.१ ओभरमा अलआउट हुँदै ५३ रनमात्र बनाएको थियो। चीनका लागि लियाङ चेन र गौओ गाओले समान १३–१३ रन बनाउनुबाहेक अन्य ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

चीनलाई सस्तैमा समेटन नेपालका सागर ढकालले ९.१ ओभर बलिङ गर्दै ३ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए। त्यस्तै तिलक भण्डारीले ३ र  कमलसिंह ऐरीले १ विकेट झारे।

प्रतिक्रिया दिनुहोस्