नेतृत्वमा आत्मरतिको दलदल



काठमाडौं । संविधान बनाउन २ पटक संविधानसभा निर्वाचन भयो । तर, निर्वाचन जारी गर्ने बेलामा संविधानसभा सदस्यले आफ्ना शीर्ष नेताले गरेको सहमितमा ल्याप्चे लगाए । दलहरूले महाधिवेशनअघि विचार र गुट बनाए ।

जब मताधिकारको प्रयोग हुने बेला भयो, तल्ला तहका नेता शीर्ष नेतालाई निर्णयको जिम्मा दिएर पन्छिए । राष्ट्रिय राजनीतिका मुद्दा हुन् या पार्टीले पाउने राजकीय जिम्मेवारीको बाँडफाँटको समयमा, अन्तिममा पार्टी नेतृत्वकै काँधमा निर्णय अधिकार दिन्छन् दल र तिनका नेता । तल्ला तहका भनिएका नेताहरूको पहिला कुर्लने र निर्णायक बेलामा थन्किने परिपाटीका कारण तिनका शीर्ष नेतामा ‘म नै पार्टी हुँ’ भन्ने उन्मादसँगै आत्मरति बढ्न थालेको छ ।

तल्ला तहका नेताका यिनै ढुलमुले र निरीह व्यवहारका कारण पछिल्ला दिन चुनाव लक्षित भाषण र दौडधुपमा दलका शीर्ष नेताका अभिव्यक्ति लोकहितभन्दा आत्मरतिमा केन्द्रित हुन थालेका छन् ।

भाग्यकै भर
कांग्रेस सभापति शेरबहादुर देउवा हम्मेसी अन्य दलका नेताको आलोचनामा शब्द खर्चंदैनन्। तर, प्रधानमन्त्रीमा चयन र पार्टी महाधिवेशनबाट पुनः सभापति बनेपछि भने उनमा भाग्यवाद र आफ्नोपनको आत्मरति झाङ्गिएको छ। ज्योतिषीले ‘पटकपटक प्रधानमन्त्री बन्ने योग छ’ भनेकै भरमा कांग्रेसको बहुमत नहुँदा पनि केपी ओली नेतृत्वको सरकार ढाल्न लागेका देउवा अन्नतः एमालेका तत्कालीन शीर्ष तहकै नेताको जोडबलमा प्रधानमन्त्री भए।

आफ्नो पार्टीको बहुमत नभए पनि विपक्षी दलले नै प्रधानमन्त्री बनाएपछि भाग्यवादको आत्मरतिले उनलाई नराम्ररी गाँजेको उनकै पार्टीका नेताहरूको दुखेसो छ। महाधिवेशनबाट आफ्ना कट्टर आलोचककै बुइ चढेर सभापतिमा निर्वाचित भएका देउवासँग केन्द्रीय समितिमा बहुमत छ । बहुमतको बलमा पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै रामचन्द्र पौडेलदेखि डा. शेखर कोइरालासम्मका नेता असन्तुष्ट छन् ।

तर, देउवाले भने भ्रातृ सङ्गठनका नेतृत्व चयनदेखि चुनावी गठबन्धन र तालमेलसम्ममा एकल निर्णय लिँदै अघि बढ्दै छन् । अन्ततः यसले पार्टीभित्र असन्तुष्टि चुल्याउने कांग्रेसका संस्थापनइतर नेताहरू बताइरहेका छन् ।

‘बा’ले ल्याएको बल
दुई तिहाइ नजिकको सरकार सञ्चालन गरिरहेका एमाले अध्यक्ष केपी ओलीको दुई तिहाइ ल्याएर सरकार चलाउने आत्मरतिले ओलीमा संसद् विघटनको ‘गलत’ सोच मात्र पलाएन, उनलाई प्रधानमन्त्रीबाटसमेत हटायो ।

तर, भाषण चातुर्य र निरन्तर तथा मौलिक शैलीमा बोल्ने उनको खुबीका कारण कार्यकर्तामाझ उनी बा कहलिए । र, यही ‘बा’को आत्मरतिका कारण पार्टी विभाजन भइसक्दासमेत उनी स्थानीय तह निर्वाचनमा एक्लै ७० प्रतिशतसम्म जीत निकाल्ने दाबी गरिरहेका छन् । कार्यकर्ताले कार्यक्रमस्थलमा बनाइदिएका आफ्ना ‘डमी’ हेर्दै जुँगामा ताउ लगाउने ओलीसँग ‘बा’को नारा घन्काउने संस्कृतिविरुद्ध बोल्नसमेत एमाले नेता, कार्यकर्ता डराउँछन् ।

बा संस्कृतिविरुद्ध बोल्ने कार्यकर्तामाथि गरिएका विभेदका कारण यो संस्कृति अँगाल्दै ओली आत्मरतिको रक्षा गर्नु बाध्यता भएको पार्टीका दोस्रो तहका नेताहरू नै स्वीकार गर्छन् ।

कार्पेटकै ‘ह्याङओभर’
एमालेमा रहँदा सधैँजसो गर्ने भाषणमा माधवकुमार नेपालले अपमान भएको भन्दै ‘रोइलो’ गाइरहे । १४ जना सांसद र २० प्रतिशत सुविधाको अध्यादेशबाट नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) निर्माण गरी अध्यक्ष भएपछि भने उनैबाट धेरै नेताले अपमान महसुस गरे। नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्दै उनले नेता झलनाथ खनाललाई सम्मानित नेताको पद दिए।

तर, तिनै सम्मानित नेताले एमसीसी अनुमोदनमा अध्यक्षले देखाएको रवैयाको विरोध गर्न खोज्दा केन्द्रीय कमिटीमा ‘स्पेस’समेत पाएनन्। उनले सार्वजनिक रूपमै अध्यक्ष नेपालले अपमान गरेको गुनासो गरे । तर, नेपालको अध्यक्ष बन्ने महत्वाकाङ्क्षाअघि यसको सुनवाइ नै नभएको खनाल पक्षधर नेताको दाबी छ। शुक्रबार काठमाडौंमा भएको एउटा कार्यक्रममा नेपालले गरेको भाषणले उनको आत्मरतिको झल्को राम्रैसँग दिएको छ । उनले कार्यक्रममा भनेका छन्, ‘अहिले म जहाँ गइरहेको छु, त्यही भीड हुन्छ।

जहाँका पनि हल साँघुरा र कुर्सी कम हुन्छन्, भुइँमै कार्पेट बिछ्याएर बस्नुपर्छ।’ तर, स्थानीय तह निर्वाचनमा भने उनलाई जसरी पनि कांग्रेस या माओवादी केन्द्रसँग गठबन्धन गर्नै पर्नेछ । उनका पछिल्ला समयका भाषणमा यो स्पष्ट रूपमा भनिँदै आएको छ।

राजा बोकेको भ्रम
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हुँदै राप्रपा अध्यक्ष बन्दासम्म कमल थापा एउटै भाषण गर्थे, ‘नेपालमा राजसंस्था चाहिन्छ ।’ तर, पार्टीको पछिल्लो महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले आफ्नो नेतृत्व क्षमताको समीक्षा गरेनन्, सोझै पूर्वराजा ज्ञानेन्द्रले आफूलाई हराइदिएको बताए । अधिवेशन सकिएपछि ज्ञानेन्द्रलाई गाली गरेर मात्र उनको चित्त बुझेन ।

कार्यकर्ता पछि लाग्छन् भन्ने आत्मरतिले उनले पार्टी नफुटाउने पुरानो कसम तोड्दै राप्रपा नेपालमा अध्यक्ष बन्न गए । शुक्रबार उनको एउटा भिडियो सन्देशमा भने उनको राजभक्ति अन्त्य भएको झल्कियो । अब राजसंस्था बोक्न नसकिने अभिव्यक्ति उनले दिएका छन् । थापाका पछिल्ला अभिव्यक्तिबाट बुुझिने एउटै कुरा हो– राजतन्त्र ल्याउने र फाल्ने अब उनी ‘एक्ला बृहस्पति’ हुन्।

साझा नेताको भ्रम
१० वर्षको अन्तरालमा आफूले नेतृत्व गरेको पार्टी टुक्रिएर ४ वटाभन्दा बढी पार्टी जन्मिसक्दा पनि नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साझा नेता रहेको भ्रममा छन् । गृह जिल्ला चितवन पुग्दा सधैँजसो भावुक बन्ने प्रचण्डमा शुक्रबार भने आत्मरित देखियो। उनले आफू माओवादी केन्द्रको मात्र नभएर देशकै नेता भएको दाबी गरे ।

तर, उनलाई विपक्षी दलसँगै आफ्नै दलका नेताले समेत विश्वास गरिरहेका छैनन् भन्ने हेक्का राखेनन् । एसमसीसी अनुमोदनपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठ र मात्रिका यादवले दिनहुँजसो अध्यक्ष साझा बन्न नसकेको गुनासो गरिरहेका छन् । आफूलाई समग्र देशको नेता भएको बताउँदै उनले गिरिजाप्रसाद कोइराला जस्तो साझा नेता बन्न खोजेको सङ्केत चितवनमा पुगेर दिएका छन्। उनले शान्ति सम्झौताका बेला गिरिजाको काँधमा देशको सिंगो जिम्मेवारी आएजस्तै अहिले देशमा सङ्कट आउँदा आफूले टार्ने गरेको दाबी गर्नसमेत भ्याए।

एमसीसी अनुमोदनप्रति लक्षित उनको यो अभिव्यक्ति पहिलो हो । तर, साझा नेता र देशको सङ्कट टार्ने नेता बन्ने प्रयास भने देखिने गरी कहिल्यै नगरेको आरोप विपक्षी दल र उनकै पार्टीका नेताहरूले समेत लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्