लोसपालाई सरकारमा भित्र्याएर भारत जाँदै प्रधानमन्त्री



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । देउवा सरकारलाई ‘परमादेशको सरकार’ भन्दै आलोचना गर्ने लोसपा मधेसको मुद्दा सम्बोधन भइरहेको जनाउँदै सरकारमा सहभागी हुने भएको हो । स्रोतका अनुसार कम्तीमा ३ वटा मन्त्रालय पाएमा लोसपा सरकारमा जाने तयारीमा छ ।
लोसपाले उठाउँदै आएका मुद्दाहरू सम्बोधन गर्ने प्रतिबद्धता आएपछि सकारमा सहभागी हुनेबारे छलफल अगाडि बढाएको लोसपा अध्यक्ष महन्थ ठाकुर बताउँछन् ।
उनका अनुसार प्रधानमन्त्रीले लोसपाले उठाउँदै आएका नागरिकतासम्बन्धी समस्या र सांसद रेशम चौधरीको रिहाइ गर्ने जस्ता विषयमा लचिलो भएपछि लोसपा सरकारमा जाने विषयमा सकारात्मक बनेको हो । तर, कहिले सरकारमा जाने भन्नेबारेमा बालुवाटारसँग थप कुराकानी अगाडि नबढेको उनी बताउँछन् ।
लोसपा स्रोतका अनुसार मंगलबार नै सरकार र लोसपाबीच सरकारमा सहभागी हुनेबारे छलफल गर्ने तयारी थियो । तर, कांग्रेसको केन्द्रीय समितिको बैठकका कारण मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको लोसपा स्रोतले जनाएको छ ।
सरकारमा सहभागी हुने लगभग निश्चित भएपछि जिल्ला दौडाहामा रहेका सबै नेताहरू अहिले काठमाडौं आएका लोसपा स्रोतको भनाइ छ । स्रोतका अनुसार सम्भवतः बुधबार सरकार र लोसपाबीच यस विषयमा छलफल हुनेछ ।
स्थानीय तहको चुनावको तयारीसँगै सरकारमा सहभागी हुने लगभग निश्चित जस्तै भएको लोसपा सांसद एकबाल अहम्मद शाह बताउँछन् । उनका अनुसार पार्टी सम्भवतः यही शुक्रबारसम्म सरकारमा सहभागी हुनेछ ।
लोसपा सांसद शाह भन्छन्, ‘मधेस मुद्दाको सम्बोधनको आश्वासनमा लोसपा सरकारमा जाँदै छ । त्यहीअनुसार हामीले ४ वटा मन्त्रालय माग गरेका छौं । प्रधानमन्त्रीज्यूबाट २ वटा मन्त्रालय दिने कुरा आइरहेको छ तर कम्तीमा ३ वटा मन्त्रालय नपाएसम्म लोसपा सरकारमा जाँदैन ।’
उनी भन्छन्, ‘सरकारले नागरिकता विवाद हल गर्नका लागि करिब १० दिन अगाडि नै एउटा टोली पनि गठन गरिसकेको छ, यसको अर्थ सरकार हाम्रो मुद्दाप्रति गम्भीर छ भन्ने हो । यही विश्वासका आधारमा लोसपा सरकारमा जाने तयारी गरेको छ ।’ सांसदद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णको नेतृत्वमा सरकारसँग छलफल गर्न टोली गठन भएको छ ।

मन्त्रीमा कसको चर्चा ?
लोसपा लगभग ३ वटा मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छ । स्रोतका अनुसार अहिले खाली रहेका मन्त्रालयहरू रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै एउटा अर्को मन्त्रालय लोसपालाई दिने तयारी छ ।
सरकारसँग सहमति भए लोसपाबाट शरदसिंह भण्डारीको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको लोसपाका एक नेता बताउँछन् । उनका अनुसार भण्डारीसँगै सांसदहरू एकबाल अहम्मद शाह, अनिल झा वा उमाशंकर अरगरियामध्ये कोही १ जना सरकारमा जानेछन् ।
पार्टीमा थप रणनीति तय गर्नका लागि भोलि (बुधबार) लोसपाले कार्यकारिणी समितिको बैठकसमेत डाकिएको छ । यो बैठकमा स्थानीय तह चुनावबारे रणनीति तय र घोषणापत्र तयारीबारे छलफल हुने लोसपाले जनाएको छ ।

कसरी बन्यो माहोल ?
देउवा नेतृत्वको सरकार अहिले बलियो छ । कारण– सरकार चलाउन चाहिने बहुमत यससँग छ । त्यसैले लोसपा समर्थनको कुनै आवश्यकता पनि छैन । तर पनि देउवा सरकारले लोसपालाई सरकारमा भित्र्याउँदै छ ।
यसको पछाडिको रहस्य हो– संसद्मा देउवालाई प्रधानमन्त्री बन्नमा लोसपाबाट भएको समर्थन । देउवा सरकारलाई सदनमा लोसपाले विश्वासको मत दिएर सघाएको थियो ।
यसरी देउवालाई सहयोग गर्ने लोसपाको नीति यहीँ रोकिएन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा पनि लोसपाले खुलेर सरकारको समर्थन ग¥यो । अर्थात् एमसीसी अनुमोदन गराउन सुरुदेखि लोसपा प्रधानमन्त्रीको साथमा थियो ।
यद्यपि, कांग्रेससँगै गठबन्धन गरेका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले एमसीसीको विरोध गरेका थिए । त्यसको बाबजुद पनि लोसपाले देउवा सरकारलाई साथ दिएको थियो ।
यसरी लोसपा सरकारमा नभए पनि हरेक कठिनाइको समयमा लोसपाले देउवालाई साथ दिएको छ । यी सब समर्थनका कारण देउवाले अध्यक्ष ठाकुर पक्षलाई सरकारमा ल्याउन चाहेका छन् । मूलतः यही कारणले लोसपा सरकारमा जाने माहोल बनेको लोसपा निकटहरू बताउँछन् ।

भदौदेखि सम्वाद
सरकारमा सहभागी हुने सन्दर्भमा लोसपाले समर्थन जनाएदेखि छलफल चलेको लोसपा स्रोत बताउँछ । तर, औपचारिक रूपमा गत भदौमा लोसपा गठन भएपछि यो सिलसिला बढ्दै गएको हो । यही क्रममा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच धेरै पटक सम्वाद पनि भयो ।
स्रोतका अनुसार त्यस बैठकमा सरकारमा कसरी सहभागी हुनेबारेमा पटकपटक छलफल भयो । सरकारमा सहभागिताका लागि दुवै पक्ष सकारात्मक बनेपछि अन्तिममा आएर माहोल बनेको लोसपाका प्रभावशाली एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्