‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’ को काठमाडौं मेगा अडिसन सम्पन्न



काठमाडौं : भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’ को काठमाडौं मेगा अडिसन सम्पन्न भएको छ। 

काठमाडौंको हात्तीसारस्थित गसिप क्याफेमा शुभदिन मिडियाद्वारा आयोजित प्रतियोगिताको काठमाडौं मेगा अडिसन सम्पन्न भएको हो। अडिसनमा अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब २ सय प्रतिस्पर्धीको सहभागीता रहेको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिइन्। 

काठमाडौं मेगा अडिसमा शिक्षाविद् तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल, पर्यटन व्यवसायी तथा पलेटी होलीडेका संस्थापक किशोर घिमिरे र कार्यक्रम संयोजक तथा मिस नेपाल २००५ सुगारिका केसी निर्णायक थिए। 

यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्न भइसकेको छ। जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए। काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिइन्। 

नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुनेसमेत आयोजकले जनाएको छ। पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा र्पुयाउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने यस प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्