एमबीबीएसको प्रवेश परीक्षामा परीक्षार्थी नक्कली, नागरिकता नक्कली, प्रवेशपत्र नक्कली



काठमाडौं । एमबीबीएसको प्रवेश परीक्षामा नक्कली नागरिकता, नक्कली परीक्षार्थी र अन्य कागजात पनि नक्कली तयार पारी परीक्षा दिने पक्राउ परेका छन् । २ दिनअघि काठमाडौंमा भएको एमबीबीएसको प्रवेश परीक्षामा सबै कागजात नक्कली बनाएर परीक्षा दिनेलाई प्रहरीले नियन्त्रणमा लिएपछि यसको खुलासा भएको हो ।

चिकित्सा शिक्षा आयोगले शुक्रबार सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ४ जना र १ जना परीक्षार्थीलाई राजधानीबाट महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको हो। ललितपुरको किष्ट कलेजमा एमबीबीएस पढ्दै गरेका ३ जना विद्यार्थीसहित पक्राउ गरिएका ५ जनालाई आइतबार सार्वजनिक गरिएको हो। महानगरीय अपराध महाशाखा प्रमुख वसन्त कुँवरका अनुसार अपराध महाशाखाको टोलीले अर्काको नाममा परीक्षामा सहभागी हुने किष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादवलाई पक्राउ गरिएको हो।

यी तीनै जनाले अरूको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। प्रहरीका अनुसार पण्डितले जनकपुर– १४ बस्ने वृकेश यादव, चौधरीले धनुषा अन्दुपट्टी– १ बस्ने आजीवकुमार यादवको नाममा परीक्षा दिइरहेका थिए भने राम आशिष यावदले रूपन्देही ओमसतिया– ३ बस्ने स्मित सिंहको नाममा प्रवेश परीक्षा दिइरहेका थिए। किष्ट कलेजबाट मात्र नभएर भारतबाट आएरसमेत अर्काको नाममा परीक्षा दिने इस्तियाक अहम्मदलाई पनि प्रहरीले पक्राउ गरेको छ।

अहम्मद भारत बिहार औरङ्गाबाद निवासी हुन् । उनले सक्कली परीक्षार्थी सन्नीकुमार साहको ठाउँमा परीक्षा दिइरहेको अपराध महाशाखाले जनाएको छ। अहम्मदसँगै परीक्षा हलबाहिर रहेका सन्नीकुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सबैलाई काठमाडौंमा प्रहरी हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीले कसरी झुक्याए ?
चिकित्सा शिक्षा आयोगको एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पहिला फर्म भन्नुपर्ने हुन्छ । चिकित्सा शिक्षा आयोगको एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन अनलाइन फर्म भरेपछि प्रवेशपत्र प्राप्त हुन्छ ।

त्यही प्रवेशपत्र लिएर परीक्षामा जाँच दिन पाइन्छ । प्रहरी भन्छ, ‘हो, यसको खेल यहीँबाट सुरु हुन्छ किनकि अनलाइन फर्म भर्दा धेरै कुरा छुट्याइरहनुपर्दैन अनि विद्यार्थीहरू यहीँ खेल्छन् ।’ प्रहरी प्रवक्ता कृष्ण कोइरालाका अनुसार विद्यार्थीहरूले अनलाइन फर्म भर्दा सबै सूचनामा आफ्नो राख्ने तर फोटोचाहिँ अरूको राख्ने गरेका छन् ।

प्रहरी प्रवक्ता कोइराला भन्छन्, ‘यही प्रवेशपत्रमा फोटो राख्दा आफ्नो फोटो र परीक्षा दिनेको फोटो ग्राफिक्सको माध्यमले नचिन्ने गरी बनाउँछन् अनि त्यही प्रवेशपत्रमा राख्छन् । अनलाइनमा नै यसरी राखेपछि प्रवेशपत्र आउँदा नै सक्कली भएर आउँछ । त्यही मौकाको फाइदा उठाएर यस्तो गतिविधि हुने गरेको छ ।’
‘अप्रेसन इको’
चिकित्सा शिक्षा आयोगको एमबीबीएसको प्रवेश परीक्षा १८ देखि २१ चैतसम्म सञ्चालन हुने खबर अपराध महाशाखालाई थियो। यही परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुनेबारे सूचना पनि अपराध महाशाखालाई प्राप्त थियो। त्यसपछि अपराध महाशाखाको टोलीले यसरी नक्कली काम गर्नेलाई पक्राउ गरी पर्दाफास गर्ने योजना बनायो ।

त्यही योजनाअनुरूप महाशाखाले छुट्टै टोली पनि गठन गर्‍यो, जसको नाम दिइयो– ‘अप्रेसन इको ।’ त्यसपछि यो टोली आफ्नो मिसन पूरा गर्नमा जुट्यो, जुन क्रममा काठमाडौंमा सञ्चालित परीक्षा केन्द्रहरूमा सतर्कता अपनाइयो । त्यसपछि प्रहरीको यही टोलीले सबै कागजात नक्कली बनाएर परीक्षा हलमा पुगेका चारै जना विद्यार्थीलाई पक्राउ गर्न सफल भयो । प्रहरीले सीसीआरसी कलेज, एम्बिसन एकेडेमी र ग्रामर स्कुलसहितका परीक्षा केन्द्रहरूबाट नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लियो ।
‘नाम निकालेबापत १८ लाख दिने डिल’
एमबीबीएस पढिरहेका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई प्रलोभनमा पारेर नक्कली परीक्षार्थीको रूपमा प्रयोग गर्न सक्कली परीक्षार्थीले ‘कन्भिन्स’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानबाट खुलेको छ–अर्काको नाममा परीक्षा दिएबापत उनीहरूले ५० हजारदेखि २ लाख रुपैयाँसम्म अग्रिम पैसासमेत लिइसकेका थिए।

त्यसपछि रिजल्टका आधारमा थप पैसा लिने उनीहरूबीच भएको सहमतिमा नक्कली परीक्षार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। पूर्ण छात्रवृत्तिमा नाम निकालिदिएमा १८ लाख रुपैयाँसम्म परीक्षार्थीलाई दिनेगरी ‘डिल’ भएको थियो। प्रहरी प्रवक्ता कोइरालाका अनुसार प्रवेश परीक्षामा नाम निकालेपछि २ देखि १८ लाख रुपैयाँसम्म पैसा लिने दिने डिल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्