निर्वाचनमा एमाले बढारिनेछ : खनाल



दाङ्ग । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहमा बचेको एमालेको साख पनि समाप्त हुने दाबी गरेका छन् ।
संघ र प्रदेश सरकारबाट एमाले बढारिइसकेको भन्दै खनालले अब स्थानीय तहमा बचेको साख पनि आगामी वैशाख ३० गतेबाट समाप्त हुने दाबी गरे ।
‘संघीय सरकारबाट बाहिरिए, प्रदेश सरकारबाट बाहिरिए,’ नेकपा एसले सोमबार घोराहीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले भने, ‘अब केपीका पुच्छरहरु बचेको भने स्थानीय तहहरुमा मात्रै हो, उनीहरु पनि वैशाख ३० गते पछि बढारिँदैछन् ।’
दुई÷दुई पटक प्रतिनिधिसभा भंग गरेका केपी ओली साजयको भागेदार बन्नु पर्ने भन्दै खनालले आगामी निर्वाचनमा उनलाई सजाय दिलाउनै पर्ने बताए । आगामी निर्वाचन प्रतिगमन र लोकतन्त्रवादी शक्तिबीचको लडाईका रुपमा आउने भन्दै खनालले भने, ‘मुलुकमा फेरि प्रतिगमनकारीहरुलाई शक्ति भित्र्याएर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम गरिनु हुन्न ।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने देखिनै नेकपा कमजोर बन्दै गएको भन्दै खनालले त्यसको असर अहिले एमालेमा देखिएको बताए । अहिले एमाले निकै कमजोर बनिसकेको दाबी गर्दै खनालले एमालेलाई अझै कमजोर पारिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्