लयमा फर्कंदै विवादित खेल संघ



काठमाडौं । विवादका कारण लामो समय गतिविधि प्रभावित भएका नेपालका ४ खेल संघले पुनर्जीवन पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को संयोजकत्वमा गठित विवाद समाधान समितिकै पहलमा उसु, चेस, मुवाथाई र शारीरिक सुगठनको विवाद केही दिनमा नै अन्त्य गर्ने जनाइएको छ।

उसुको तदर्थ कमिटी गठनको तयारी छ भने चेस संघको अध्यक्षलाई आफ्नो भनाइ राख्ने मौका दिइएको छ । विवाद समाधान समितिका एक सदस्यका अनुसार, ‘मुवाथाई र शारीरिक सुगठनका विवादित दुवै संघले एउटै संघ गठनका लागि नामावली बुझाइसकेका छन्।’ वीरबहादुर तामाङ नेतृत्वको नेपाल उसु महासंघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अवैध ठहर गर्दै जनक बड्तौलाको नेतृत्वमा नेपाल उसु संघको पुनर्गठन गर्ने तयारी गरेको छ। २०७५ सालमा राखेपका तत्कालीन सदस्य सचिव केशव विष्टले आफू निर्वाचनमा पराजित हुने भयले आफैँले उद्घाटन गरेको संघको साधारणसभा स्थगित गरेपछि उसुको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो।

सो समयमा विष्टले आफैँलाई तदर्थ कमिटीको अध्यक्ष घोषणा गरेका थिए। विष्टकै कार्यकालमा नेपाल उसु संघको नाम परिवर्तन गर्दै नेपाल उसु महासंघ राखिएको थियो। २०७६ सालमा भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा उम्मेदवार हुनका लागि विष्टले संघ प्रतिनिधि बन्ने शर्तमा वीरबहादुर तामाङलाई अध्यक्ष पद छाडेका थिए। तामाङ नेतृत्वको महासंघलाई स्वीकार गर्ने कुनै आधार नै नभएकामा जोड दिँदै राखेप कानुन शाखाले विवाद समाधान समितिलाई उसु महासंघ विघटन गर्दै वैकल्पिक बाटो खोल्न सुझाव दिएको हो । अहिले जिम्मेवारी पाउने बड्तौलाले विगतमा संघ उपाध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए। यसैगरी नेपाल बुद्धिचाल संघको फाइल राखेपमा रहेको छ । ३१ सदस्यीय बुद्धिचाल संघमा १९ जनाले संघ नेतृत्वप्रति असहमति जनाउँदै परिषद्मा निवेदन दिएका छन् । यसअघि नै संघ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले राजीनामा दिइसकेका छन् । वर्तमान नेतृत्वले संघको वार्षिक साधारणसभा नगरेको २ वर्ष नाघेको छ।

कोभिड महामारी खुकुलो भएको समयमा समेत नेपाल बुद्धिचाल संघले भर्चुअलबाहेक अन्य प्रतियोगिता आयोजना गरेको छैन । संघको कार्यकाल पूरा भएपछि पनि समय थपका लागि राखेपसँग अनुमति पनि मागेको छैन । विगत लामो समयदेखि संघको अडिटसमेत नभएको नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले स्वीकार गरेका छन् । कार्यसमितिका १९ जनाले विद्रोह गरेपछि परिषद्ले सोमबार संघ अध्यक्ष एकालाल श्रेष्ठलाई छलफलका लागि बोलाए पनि उनी अनुपस्थित भए । लामो समयदेखि कार्यसमिति बैठक हुन नसकेको चेस खेलका अधिक प्राविधिक, सिनयिर खेलाडी तथा प्रशिक्षकसमेत अहिले संघ नेतृत्वको विरुद्धमा छन्।

विवाद समाधान समिति निकट स्रोत भन्छ, ‘केही दिनमै तदर्थ कमिटी गठन हुनेछ ।’ यी ४ संघका विवाद समाधान भए पनि अन्य धेरै संघका विवाद समाधान हुन लामो समय लाग्ने जनाइएको छ । नेपाली तेक्वान्दोमा ठूलो समूहले संघविरुद्ध आवाज उठाएको छ । कराते महासंघ विवाद समाधानका लागि ६ महिने समय सीमाका साथ तदर्थ कमिटी गठन भए पनि सो तदर्थ कमिटी पनि निर्वाचन गर्न असफल भएको हो । करातेको विवाद समाधान हुन पनि लामो समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्