भैंसी बेचेको निहुँमा छोराद्वारा आमाको हत्या



वीरगन्ज : धारिलो हतियार प्रयोग गरी पर्सामा एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। वीरगन्ज महानगरपालिका २४ रामगढवा नयाँ बस्तीका २० बर्से गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीलाई भैंसी बेचेको निहुँमा हत्या गरेका प्रहरीसँगको बयानमा भनेका छन्। 

‘भैंसी बेचेको विषयमा दिउँसो घरभित्र नै विवाद भइरहेको थियो,’ पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले भने, ‘गुड्डुले घरमै आफ्नै आमामाथि गाली गलौज गर्दै हातपात गरेका थिए।’

छोराले कुटपिट गर्न थालेपछि आमा घरबाहिर निस्केर भाग्न खोज्दा आक्रोशित युवकले घर बाहिर नै शोभाको घाँटी र अनुहारमा धारिलो हतियार हानेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरी नायब उपरीक्षक शर्माले बताए।

गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानमा प्रहरी नियन्त्रणमा रहेका गुड्डुले आमाले दिनरात किचकिच गरी गाली गलौज गर्दै आएकोमा आक्रोशमा आएर उनीमाथि फलामको हतियार प्रहार गरेको बयान दिएका छन्। हाल मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्