श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, गाडेको अवस्थामा भेटियो शव



धनगढी : कैलालीमा एक दम्पती मिलेर एक जनाको हत्या गरेको छ। जिल्लाको चुरे गाउँपालिका ६ मा श्रीमान श्रीमती मिलेर ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको हत्या गरेका हुन्।

कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो। कुँवरको हत्या गरेको आरोपमा प्रहरीले लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई पक्राउ गरेको छ।

मृतक कुँवर कल्पनाका पूर्वप्रेमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।

स्थानीयबासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मंगलबार सिमसेला खोला किनारमा जमिनमुनी गाडेको अवस्थामा कुँवरको शव भेट्टाएको थियो।

कुँवर असार २२ देखि सम्पर्कमा आएका थिएनन्। हत्याको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्