प्रो च्याम्पियनसिपः सेमिफाइनलमा मलेसिया र उत्तरप्रदेश, रुपन्देही–११ र नेपाल आर्मी भिड्ने



भैरहवा । शेनवार्नको सम्झनामा भैरहवामा जारी प्रो च्याम्पियन्स लिगमा रुपन्देही–११ र मलेसिया–११ सेमिफाइनलमा प्रवेश गरेका छन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह एबाट मलेसिया, पुस स्पोर्ट्स दिल्ली र रुपन्देहीले अंक तालिकामा समान चार–चार नम्बर ल्याएपछि नेटरनरेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन्।

आज भएको पहिलो खेलमा नेपाल आर्मीले क्लबले भारतको उत्तर प्रदेशलाई सात विकेटले पराजित गर्दै समूह विजेता भएको छ। त्यसो त दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिले ब्याटिङ गर्दै उत्तर प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो।

जसमा सुभम चौधरीले २७, राज यादव र नितिन रामले समान २१–२१ रन जोडे। आर्मीका सुशान्त भारी, जितेन्द्र मुखिया र हरि चौहानले समान दुई–दुई विकेट लिए। जबाफी ब्याटिङ गरेको नेपाल आर्मीले आठ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो। उसका लागि रोहित पौडेलले ३०, भीम सार्कीले २६ र सन्तोष कार्कीले २० रन जोडे।

अर्को खेलमा दिल्लीले रुपन्देहीलाई चार विकेटले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो। विशाल विक्रम केसीले २९ र बसिर अहमदले २८ रन जोडे। दिल्लीका सबै बलरले २–२ विकेट लिए।

जबाफी ब्याटिङ गरेको दिल्लीले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो। भिसेस सरोहले सर्वाधिक २६ रन बनाए। विक्रम भुसाल र विशाल विक्रम केसीले समान २–२ विकेट लिए। बिहीबार सेमिफाइनलमा मलेशिया(११ र युपी–११ तथा रुपन्देही–११ र नेपाल आर्मी भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्