अपराधको घटनामा कमी, निर्मला हत्या प्रकरण ओझेलमा



काठमाडौं । अघिल्ला वर्षका तुलनामा २०७८ सालमा देशभित्र अपराधका घटनामा कमी आएको पाइएको छ। केही चर्चित ठुल्ठूला अपराधका घटना भएपनि समग्र अपराधको घटनामा कमी आएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। प्रहरी प्रधान कार्यालयको आँकडामा यो वर्षमा देशभरिमा २९ हजार ६६९ वटा घटना भएको प्रहरी मुख्यालयको तथ्यांक छ ।

जबकि गत आर्थिक वर्ष २०७७/०७८ मा देशभरिमा ४० हजार १२० वटा अपराधिक घटना भएको थियो। यसरी गत आर्थिक वर्ष भन्दा यो वर्षमा अपराधिक गतिवधिमा कमी आए पनि केही चर्चित घटनाहरु भएका छन् । अर्थात् २०७८ साल पनि चर्चित अपराधको सालको रुपमा रहयो।
चर्चित ४ घटना
देशभरिमा अपराधजन्य गतिविधिमा कमी आएपनि केही घटनाहरु भने चर्चाको केन्द्रबिन्दूमा रह्यो । नायक पल शाह प्रकरण, संखुवासभा हत्याकाण्ड, महोत्तरी हत्याकाण्ड,पूर्वी चितवन हत्याकाण्ड २०७८ का चर्चित घटना हुन् । केही चर्चित घटनाका उदाहरण हेरौं ।
उदाहरण –१
यो सालको चर्चित अन्तिम घटना हो, नायक पल शाहको । चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चामा थियो नायक शाह प्रकरण । कारण थियो –नाबालिग गायिकामाथि बलात्कार अभियोग । नायकले नाबालिगमाथि बलात्कार गर्ने भनेर देशभरि चर्चा भयो । त्यहीकारण नायक शाह अहिले जेलमा छन् ।

जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। २०७८ साल १४ वैशाखमा तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। यही १५ फागुनमा आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसपछि दोषी ठहर गर्दै अदालत उनलाई पुर्पक्षमा पठायो ।
उदाहरण–२
नायक शाहजस्तै यो वर्षको अर्को चर्चित घटना हो, संखुवासभाको सामूहिक हत्याकाण्ड। यही वर्षको २१ भदौंमा संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एउटा परिवारको सामूहिक हत्या भयो । ५२ वर्षीय तेजबहादुर कार्की सहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्की गरी ६ जनाको हत्या भयो।

भदौंको बर्खाको महिनामा संखुवासभामा भएको यो घटनाको तरंग काठमाडौंसम्म आइपुगेको थियो। आफ्नै भाइको छोराबाट सबै हत्या भएको प्रहरी अनुसन्धानबाट घटनाको रहस्य खुलेको थियो।
उदाहरण–३
यसैगरी अर्को चर्चित घटना हो, २० जेठमा महोत्तरीमा भएको सुजिता ठाकुर हत्याकाण्ड घटना। महोत्तरीको लोहरपट्टी–७ भ्रममरापुरीबाट २० जेठदेखि हराएकी सुजिताको शव १३ असारमा नजिकैको खेतमा फेला परेको थियो ।

प्रहरीले घटनाको अनुसनधान गम्भीर नबनेका कारण सुजिताको हत्या भएको भन्दै मृतका आफ्न्त महोत्तरीमा प्रदर्शन नै गरेका थिए।
उदाहरण–४
यो वर्ष पूर्वी चितवनको राप्ती नगरपालिकामा असारको दोस्रो सात सुजिता भण्डारीको हत्या भयो । ११ असारमा साथीको घरमा जान्छु भनी हिँडेकी सुजाता त्यही दिनदेखि बेपता थिइन् । त्यसपछि उनको शव वनको बीचको एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको थियो ।
१९ प्रकारका अपराध बढ्यो
लागु औषधको कारोवार, चोरी, आत्महत्या, हत्या, हिंसा जस्ता जघन्य प्रवृतिका घटनाहरुमा कमी आए पनि विविध प्रकृतिको अपराधको शीर्षकमा रहेका घटनाहरुमा बढोत्तरी भएको छ।

विविध अपराधको शीर्षकमा मानव बेचबिखन तथामानव अंग प्रत्यारोपण्न, मानव वेचविखन तथा जर्वजस्ती करणी, कुटपिट गरी गर्भ तुहाएको, जिउँदो बच्चा जन्माइ फालेको, आगलगी सम्बन्धी, विस्फोटक पदार्थ सम्बन्धी कसुर, बम विस्फोटन, संगठित अपराध, अपहरण तथा जबरजस्ती करणी, जबरजस्ती करणी गरी कर्तव्य, अपहरण तथा कर्तव्य, विद्युतीय कसुर तथा साइबर अपराध, दुरसंचार कसुर,टेलिफोन तार चोरी, वैकिङ कसुर, परीक्षा तथा शिक्षा ऐन, पशुपंक्षी सम्बन्धी कसुर,चिठ्ठा, इलाज सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरलाई विविध अपराधमा राखिएको छ ।

गत आवमा विविध अपराधका २ हजार ८३६ वटा घटना भएका छन भने यो वर्षमा यो अपराधभित्रका शीर्षकमा ३ हजार ४५८ वटा घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
यी शीर्षकका अपराधमा कमी
२०७८ सालमा विविध अपराधको शीर्षकमा राखिएको घटनाबाहेक अन्य सबै अपराधिक घटनामा कमी आएको छ । प्रहरीले अन्य अपराधमा ज्यान सम्बन्धीका घटना, आत्महत्या सम्बन्धी , चोरी सम्बन्धी, संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा वालवालिका सम्बन्धीका अपराध, सवारी सम्बन्धी र विविध अपराधका शीर्षक राखेको छ ।
ओझेलमा निर्मला घटना
कञ्चनपुरको भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान यो वर्ष पनि पूरा हुन सकेको छैन । २०७५ साल साउन १० गते साथी घरमा गृहकार्य गर्न पुगेकी १३ वर्षीया पन्त भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको ३ वर्ष भन्दा बढी हुन लागेको छ ।

तर घटनामा संलग्न अभियुक्तबारे प्रहरीले अनुसन्धानको कुनै ‘क्लु’ पत्ता लगाउन सकेको छैन। घटनाको ३ वर्ष भन्दा बढी बित्दासमेत प्रहरी प्रशासनको उत्तर अनुसन्धानमै रहेको भन्दा कुनै नौलो उत्तर पाइदैन । यो घटनापछि हालसम्म ३ जना प्रहरी महानिरीक्षक फेरबदल भए । तर, घटनाको विषयमा कुनै उपलब्धी भएको छैन । प्रहरीले आफुहरु अनुसन्धानमै रहेको र अनुसन्धानको दायरा साँघुरिएको बताउने प्रहरीले विभिन्न जटिलताका बाबजुद प्रहरीको पहिलो प्राथमिकतामा राखेर निर्मला पन्त प्रकरणलाई अनुसन्धान चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले भने, ‘यो घटनालाई हामीले प्रथम प्राथमिकतामा राखेर अनुसन्धान गरिराखेका छौँ, यो घटनामा हामी एकदम मिहिन ढंगबाट अनुसन्धान जारी राखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्