गठबन्धनले कुनैपनि राजनीतिक दलको हित गर्दैन : गगन थापा



 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले कुनैपनि राजनीतिक दलको हित नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहरूलाई पनि राम्रो नगर्ने बताएका हुन् । 

महामन्त्री थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको जिकिर गरेका छन् । महामन्त्री थापाले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु, मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताएका छन् । महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएको समेत बताएका छन् ।

उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताएका छन् । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप नहुने महामन्त्री थापाको भनाई छ । महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौ भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्