निर्वाचनका बेला चिल्ला कुरा गर्ने प्रवृत्ति समस्या : लिङ्देन



पूर्वी नवलपरासी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रको प्रवृत्तिबाट देशलाई जोगाउनुपर्ने बताएका छन् । शनिबार राप्रपा पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित चुनावी सभामा बोल्दै लिङ्देनले निर्वाचनका बेला चिल्ला कुरा गर्ने र जितिसकेपछि मोज गरेर बस्ने ठूला दलको प्रवृत्ति देशका लागि समस्या भएको उल्लेख गरेका हुन् ।

‘कांग्रेस, एमाले र माओवादीले निर्वाचनअघि चिल्ला चिल्ला कुरा गर्छन् र ५ वर्ष मोज गर्छन् यो प्रवृत्तिबाट देश जोगाउनै पर्छ,’ लिङ्देनले भने, ‘देशमा रोजगारी छैन । कृषकले धान रोप्दा मल पाउँदैन । फेरि पनि ती दललाई भोट हाल्न छोड्दैनन् अब त्यसरी हुन्न । हामी विकल्प दिन्छौं, राप्रपालाई मत हाल्नुस् ।’ गत ३२ वर्षसम्म नेपालका तीन ठूला दलले देश लुटेर बर्बाद पारेको आरोप उनले लगाए । ‘३२ वर्षसम्म पालैपालो सत्तामा बसेर देश लुटे, अबको निर्वाचनमा पनि त्यही ठूला दललाई मत दिनु भनेको देश बर्बादीमा पारेर रमित हेर्नु हो ।’

नेपालीलाई बिरामी हुँदा सिटामोल देउ भनेर अदालतले आदेश दिनुपर्ने अवस्था रहेकोले तीन दलकै कारण देश श्रीलंका पथमा गइरहेको उनले दाबी गरे । हरेक दिन वैदेशिक ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेर देश कंगाल बनाउन ठूला दल लागिपरेको र त्यो जनताले मेसो नपाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्