अमेरिकाबाट ल्याएको शंकास्पद रकमको मुद्दामाथिको सुनुवाइ आज



काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम ल्याएका पृथ्वीबहादुर शाहको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) को अनुरोधमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको खातामाथि अनुसन्धान थालेपछि शाह सर्वोच्च गएका थिए ।

अदालतको फैसला नआउँदै अर्थमन्त्री जनार्दन शर्माले शाहलाई ‘वैदेशिक लगानी ल्याउने व्यवसायी’ भन्दै खाता खुला गरिदिन ‘निर्देशन’ दिएपछि विवाद चर्किएको छ ।

पृथ्वी शाह, परिवार, कर्मचारी र कम्पनीका नाममा खोलिएका १५ खाताहरूमार्फत शंकास्पद रकम ओसारपसार गरेको आशंकामा भइरहेको अनुसन्धान रोक्न सर्वोच्चमा ६ निवेदन परेका थिए । पाँच निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धान रोकेर खाता खुला गर्ने आदेश दिन मानेको थिएन ।

अन्तिम निवेदनको पेसी सोमबार छ । यो निवेदनमा शाहले काठमाडौं महानगरपालिका–९ मा कार्यालय रहेको वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको बैंक खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रुपैयाँ फुकुवाका लागि याचना गरेका छन् ।

अमेरिकामा रहेको ‘मिसन होलिडे एलसीसी कम्पनी’ सँग २०७४ कात्तिक २५ मा द्विपक्षीय सहमति गरी अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकलाई उनीहरूको रोजाइको क्षेत्रमा घुमाउने, स्वास्थ्य उपचार बिमा गराउने र नेपाल बसाइका क्रममा लाग्ने अन्य खर्च बेहोर्ने भन्दै विभिन्न पाँचवटा कम्पनीबाट शाहले पैसा ल्याएका हुन् ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ ९एफआईयू० ले भने यो रकम व्यवसायबाट होइन, गैरकानुनी कारोबार, राजस्व छली, रेमिट्यान्स ठगी र सम्पत्ति शुद्धीकरणबाट ल्याइएको आशंकामा अनुसन्धानका लागि रोक्का राखिदिएको थियो । उस्तैउस्तै स्रोतबाट भनिएका रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा आएको छ ।

प्रतिक्रिया दिनुहोस्