९० प्रतिशत रुसी गृहयुद्धको विरुद्धमा छन् : रुसी अर्बपति टिन्कोभ



एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि अहिले आफ्नै जनताको विरोधको सामना गरिरहेको छ । रुसका प्रख्यात अर्बपतिले ९० प्रतिशत रुसी गृहयुद्धको विरुद्धमा रहेको बताएका छन् ।

पश्चिमी देशहरूबाट प्रतिबन्धको सामना गरिरहेका ५४ वर्षीय ओलेग टिन्कोभले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘म यो उन्मादपूर्ण युद्धबाट कुनै पनि पक्षलाई फाइदा भएको देख्दिनँ । निर्दोष मानिस र सैनिक मारिएका छन् ।’रुसी भाषाको पोष्टमा टिन्कोभ भन्छन्, ‘९० प्रतिशत रुसी नागरिक पनि यो युद्धको विरुद्धमा छन् । बाँकी १० प्रतिशत मूर्ख छन् ।’

टिन्कोभ रुसका प्रख्यात व्यापारीहरू मध्ये एक हुन् । उनले सन् २००६ मा टिङ्कफ बैंक स्थापना गरेका थिए । युक्रेनमा रुसले आक्रमण गर्नुअघि टिन्कोभको सम्पत्ति करिब ४.४ बिलियन डलर थियो । तर, फोर्ब्सको रिपोर्ट अनुसार गत महिना टिन्कोभको बैंकको सेयरमा तीव्र गिरावट आयो र उनको अर्बपतिको हैसियत खोसियो ।

यसैबीच, टिङ्कफ बैंकले एक विज्ञप्ति जारी गरी संस्थापकको व्यक्तिगत विचारमा टिप्पणी नगर्ने स्पष्ट पारेको छ । किनभने टिङ्कफले अब यस बैंकसँग सम्बन्धित निर्णयहरू लिने छैन ।

प्रतिक्रिया दिनुहोस्