पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने रुसको लक्ष्य



एजेन्सी । रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका साथ हेरिन्छ ।

त्यसबाहेक रुसको केन्द्रिय सैनिक जिल्लाका उपकमाण्डर समेत रहेका मिन्नेकायेभले दक्षिणी युक्रेनलाई कब्जा गरेको खण्डमा मोल्दोभाका रुसी पृथकतावादीहरु पनि भौगोलिक रुपमा जोडिने बताए । युक्रेनको छिमेकी मुलुक मोल्दोभामा डिनिस्तर नदी पारी बस्ने रुसी पृथकतावादीहरूले आफ्नै ‘ट्रान्सनिस्ट्रया’ नामक राज्य चलाउँछन् । यद्यपि यो राज्यको अन्तर्राष्ट्रिय मान्यता अत्यन्त सीमित रहेको बताइन्छ ।

‘दक्षिणी युक्रेनलाई नियन्त्रण गर्नु ट्रान्सनिस्ट्रियासम्म पुग्ने अर्को बाटो हो । त्यहाँ रुसी भाषीमाथि दमन भइरहेको छ भन्ने पनि सत्य हो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनमाथि आक्रमण गर्नुअघि डोनबास क्षेत्रमा रुसी भाषीमाथि दमन भइरहेको यस्तै दाबी गरेका थिए । यता युक्रेनी रक्षा मन्त्रालयले भने उनको टिप्पणीलाई रुसी ‘साम्राज्यवाद’ को संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्