रुसको दाबी : युक्रेनले रुसी सैनिकहरूमाथि रासायनिक आक्रमण गर्‍यो



एजेन्सी । रुसको रक्षा मन्त्रालयले आफ्ना सैनिकहरूमाथि युक्रेनले ड्रोनमार्फत विषाक्त पदार्थले आक्रमण गरेको आरोप लगाएको छ । रेडिएसन, केमिकल यान्ड बायोलोजिकल प्रोटेक्सन फोर्सका प्रमुख इगोर किरिलोभले शनिवार यसको घोषणा गरेका हुन् ।

‘अप्रिल २१ मा मानवरहित यानले रुसी सैनिकहरूको टुकडीमा आम्पूल भएको कन्टेनर फ्याँकेको थियो । एम्पूलहरूले रासायनिक प्रतिक्रिया जन्माएर विस्फोट गराउने र विषाक्त पदार्थहरू हावामा फैलाउने अपेक्षा थियो,’ उनले बताए । ती एम्पूलहरूको छानबिन भइरहेको जानकारी पनि उनले दिए ।

परम्परागत रसायनको सूचीमा एम्पूल नपर्ने स्मरण गराउँदै उनले तीनैथरी आमविनाशकारी हतियार उपयोग गर्ने संसारको एक मात्र मुलुक अमेरिका भएको पनि बताए ।

‘रुसी सैनिकहरूले युक्रेनमा चलाइरहेको विशेष सैन्य कारवाहीलाई बदनाम गर्नका लागि किएभले अमेरिकी प्रशासनको सल्लाहमा हजारौं युक्रेनी सर्वसाधारणको मृत्यु हुने तथा वातावरणीय र मानवीय विनाश जन्माउने परिदृश्य निकट भविष्यमा साकार पार्न लागेको छ,’ उनले जोड दिँदै बताए ।

प्रतिक्रिया दिनुहोस्