चलचित्र ‘हजार जुनीसम्म’ को टाइटल गीत आयुषले गाउने



काठमाडौं : भारतीयको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका नेपालका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो आवाज दिने भएका छन्।

केही दिन अघि मात्र आयुषले ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ प्राप्त गरेका थिए। उनले ‘हजार जुनीसम्म’ मा बालकलाकार अनुभव रेग्मीका लागि गीत गाउन लागेका हुन्।

आयुषले गाउने गीतको भिडियोमा अनुभवका साथ आयुष पनि देखिने निर्देशक विकासराज आचार्यले जानकारी दिँदै फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज भर्ने बताएका छन्। फिल्म ‘हजार जुनीसम्म’ को आइटम गीत ‘सुकुटी साँधन साउनी’ र ‘एमजी रोडैमा’ बोल को गीत युटुबमा सार्वजनिक भइसकेका छन्।

फिल्म ‘हजार जुनी सम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन्। अनुभवकी आमा कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन्।

चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म यहि भदौ ६ गतेका दिनमा प्रदर्शन हुने तय भएको छ।

अब भने यो फिल्म बक्स अफिसमा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका भएको मार्सल आर्ट्स कथामा आधारित फिल्म ‘जाइरा’सँग भिडन्त हुने पक्का भएको छ। अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलले संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्