‘चपली हाइट ३’मा सौगात र श्रृष्टी



काठमाडौं : नेपाली चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण हुने भएको छ। २ वर्ष अघि नै निर्माण हुने भनिए पनि चलचित्र निर्माण हुन सकेको थिएन।

मुख्य पात्रका लागि अभिनेता सौगात मल्लसंगै अभिनेत्री श्रृष्टी श्रेष्ठसँग कुरा चलिरहेको थियो भने अहिले आएर फिल्ममा सौगात र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ। अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई चलचित्र ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन्।

‘चपली हाइट ३’मा सौगात र श्रृष्टीका साथ प्रतिक श्रेष्ठ, आमिर गौतम पनि मुख्य भूमिकामा रहने भएका छन्। यसका साथै अभिनेत्री प्रियंका कार्कीलाई पनि सानो भूमिकामा देख्न सकिने भएको छ। थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर निर्माण गर्न लागिएको यस चलचित्रमा सुहाउने भएकाले सौगातलाई मुख्य भूमिकामा उतार्न आटेको चलचित्रका निर्माता अर्जुनले जनाएका छन्।

‘चपली हाइट’ जुन नौलो कथामा निर्माण गरिएको थियो त्यसरीनै ‘चपली हाइट ३’ पनि नौलो कथामा निर्माण हुने भएको अर्जुनले थपे। फिल्मका लागि अझै ३ जना नयाँ नायिकाको खोजि चलिरहेको छ।

फिल्मको निर्माण टिमले केही दिनमा निर्माता कुमारको बर्थडेमा ‘चपली हाइट’को तेस्रो सिरिजलाई एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण घोषणा गर्नुका साथै फिल्मका कलाकारहरु सार्वजनिक गर्ने बताएका छन्। फिल्मलाई निर्माण टिमले मंसिर ३० गतेलाई रिलिज मिति तय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्