सूर्योदयमा देखिएको अन्धकार भविष्य



  • जितेन्द्र थापा

सुर्खेत । यताउति गाउँ । गाउँको बीचैमा विद्यालय । ठाटीकाँध गाउँपालिका– १ नदाईमा अवस्थित सूर्योदय आधारभूत विद्यालयबाट विद्यार्थीले सूर्य उदाएको देख्छन् ।
यहाँ अध्यनरत विद्यार्थीले चम्किलो सूर्य उदाएको देख्छन् तर तिनै विद्यार्थीको भविष्य अन्धकारतिर लम्किरहेको देखिन्छ । २०६६ सालमा स्थापना भएको यस विद्यालयको २०६९ सालमा हावाहुरीले टिनको पाता उडाएपछि हालसम्म विद्यालय मर्मत हुन सकेकेको छैन ।
शिक्षक, विद्यार्थी कक्षाकोठा प्रवेश गरेपछि सहजै आकाशमा चम्केको सूर्य देखिन्छ । विद्यालयको टिनको पाता उडाएको १० वर्ष बित्यो । नेताहरूकै दैलोमा रहेको यस विद्यालयले मर्मत पाएन । ठाटीकाँध सरकार आएको ५ वर्ष पुग्दासमेत ‘नजिकको तीर्थ हेला’ भनेजस्तै पालिकाको दैलोबाट देखिने यस विद्यालयले पूर्वाधार नपाएको विद्यालयका शिक्षिका भूमिसुधा विक बताउँछिन् । ‘विद्यालयमा टिनको पाता र भवनका लागि पालिकादेखि प्रदेश धाएँ’, उनले भनिन्, ‘धेरै पटक पालिका र प्रदेश धाएर पनि असफल भएँ ।’
बालशिक्षादेखि ३ कक्षासम्म पढाइ हुने यस विद्यालयमा १०३ जना विद्यार्थी अध्यनरत छन् । बालशिक्षामा १६, १ कक्षामा ४७, २ कक्षामा २८ जना र ३ कक्षामा १५ जना अध्यनरत छन् ।
विद्यालयमा भवनको अभाव रहेको र पालिकाबाट भवनभन्दा पनि टिनका पातासमेत नपाएको विद्यालयकी प्रधानाध्यापक भूमिसुधा विकको भनाइ छ । ‘विद्यालयको भवन नपाए पनि माथि हेर्दा छर्लङ्ग देखिने आकाश ढाक्न हुन्थ्यो’, उनले भनिन्, ‘५ वर्षसम्म भवन त परको कुरा, टिनको पातासमेत पाइएन । विद्यार्थी, शिक्षकले आकाश हेर्दै पढ्न–पढाउन परेको छ ।’
भवनको कारणले आफूले सोचेको जस्तो विद्यालय बनाउन नसकेको प्रधानाध्यापक विकले बताइन् । विद्यालयमा शिक्षकका लागि दरबन्दी छैन । एक जना बालशिक्षा र २ जना गाउँपालिकाको अनुदानबाट गरी ३ जना शिक्षकले विद्यालय चलेको छ ।
विद्यालयका लागि विद्यालयमा पिउने पानीका धारा जडान गरिएका थिए । विद्यालयमा जडान गरिएका धाराका टुटीसमेत चोरी भएको विकको भनाइ छ ।
गङ्गालाल पनि उस्तै
सूर्योदय आधारभूत विद्यालय जस्तै पुराना खिया लागेका टिनका पाता । बीचबीचमा प्वाल । विद्यालयको प्राङ्गणबाटै मोटरबाटो । वरिपरि दारे भीर र पहाडको टुप्पोमा अवस्थित जीर्ण गङ्गालाल आधारभूत विद्यालय ।
विद्यालय सञ्चालन भइरहेको समयमै विद्यालय क्षेत्रबाटै सवारी साधन हुँइकिन्छन् । कक्षाकोठामा ध्यानसँग पढ्न सक्ने बालमैत्री बतावरण छैन । विद्यालयमा बस्ने डेस्क–बेञ्च छैन ।
२०६३ सालमा स्थापना भएको यो विद्यालय स्थानीय तहको दैलोमै छ । तर, स्थानीय सरकारले सौतेनी व्यवहार गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्र बम गुनासो गर्छन् । ‘स्थानीय सरकार आएको ५ वर्ष बित्यो’, उनले भने, ‘तर, स्थानीय सरकारले सिधा नजरले पनि हेरेन ।’
यहाँ ११५ जना विद्यार्थी अध्यनरत छन् । बालविकासदेखि ५ कक्षासम्म अध्ययनरत यी विद्यार्थीलाई बस्ने १५ वटा डेस्क–बेन्च छन् । ती पनि पुराना मर्मत गरेका ।
विद्यालयको हाताभित्रबाट सडक जाँदा पनि नियामक निकाय भने बेखबर छ । विद्यालयको विषयमा पालिका अध्यक्षसँग कुरा गर्दा सडक नै उपयुक्त रहेको अध्यक्षले बताएको बमले सुनाए ।
‘यस विषयमा अध्यक्षसँग धेरै पटक कुरा गरिसकेँ’, उनले भने, ‘अध्यक्षले उल्टै विद्यालय भन्दा सडक नै उपयुक्त रहेको बताउनुभयो ।’
शिक्षामा बजेट छुट्याउन पालिकाद्वारा आनाकानी
शिक्षा क्षेत्रका लागि पालिकालाई बजेट छुट्याउन आग्रह गर्दा पनि पालिकाले आनाकानी गरेको ठाटीकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नेत्र थापाले बताए ।
‘शिक्षा नै समृद्धि हो, सबै कुरा हो, शिक्षामा अगाडि नभए कसरी हुन्छ समृद्धि ?’, उनले भने, ‘पालिकामा कुल बजेटको २४ प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्छ भन्ने छ । ४–५ प्रतिशत बजेट पनि पालिकाले छुट्याएन ।’
नेताको आँगनमै विद्यालय
ठाटीकाँध गाउँपालिका– १ नदाईमा रहेको सूर्योदय आधारभूत विद्यालय यस वडाबाट राजनीति गर्ने नेताको दैलोमै पर्छ । नेताको दैलोमै विद्यालय भए पनि न विद्यालयको भवन छ, न त बालमैत्री विद्यालय नै ।
नेपाल सरकारका पूर्व साहायक जलस्रोतमन्त्री तथा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, नेकपा एमाले नेता बखत भण्डारी, ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार लक्ष्मीदेवी शाह, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रक्ष शाहीको वडामा पर्छ विद्यालय ।
दिनदिनै मात्र होइन, छिनछिनै आँखाअघि पर्ने यी विद्यालयको यस्तो अवस्था हुँदा पनि नेताहरूले चासो नदिनुले उनीहरूले राजनीति गर्नु र नगर्नुमा केही फरक नरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्