राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित



काठमाडौं । गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै सावकि विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो।

प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले लगातार तेस्रो हार हो। आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो। शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ।

यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो। प्रतियोगितामा हेल्प नेपाल, नेपाल पुलिस, एपीएफ र गण्डकीले समान ३ अंक जोडेका छन्। गल्कोट र ढोरपाटन स्पोर्टस् क्लब अंकविहीन छन्।

प्रतिक्रिया दिनुहोस्