जोन ली चुनिए हङकङको प्रमुख कार्यकारी



एजेन्सी । पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ प्रमुख कार्यकारी चुनिएका छन्। एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत् उनी निर्वाचित भएको बीबीसीले जनाएको छ। उनको नियुक्तिलाई हङकङमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रुपमा हेरिएको छ। बेइजिङका प्रखर समर्थक ली खासै लोकप्रिय थिएनन् र हालैको एउटा सर्वेक्षणमा १०० अङ्कमध्ये ३४ दशमलव ८ अङ्कमात्रै उनले ल्याएको जनाइएको छ।

तर सर्वसाधारणसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ छैन किनभने लीलाई मूलभूत रुपमा बेइजिङले चयन गरेको हो। हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिको रहने गरेको छ जसमा लगभग सबै बेइजिङका समर्थकहरु रहेका छन्। तर यसपालि उनीहरूले एक मात्रै उम्मेदवारलाई छान्नुपर्ने अवस्था रहेको थियो।

उनले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्