क्युबाको होटलमा भएको विस्फोटमा मारिनेको संख्या ३० पुग्यो, ८४ जना घाइते



एजेन्सी । क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । सो सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ ।

सो समेत गरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । विस्फोटनमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

सो दुर्घटनामा परेका अरु ८४ जना घाइते छन् । ती घाइतेहरू पनि अधिकांश जलेका बताइएको छ । होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि जनाइएको छ ।

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युबाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरूलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्