स्वीडेनका हसलमार्कले जिते साहसिक हिमालयन एक्सट्राई ट्रायथलोन



काठमाडौं । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधि जितेका छन् । ३.८ किमी पौडी, १८० किमी साइक्लिङ र ४० किमी दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन् ।

उनले फेवातालमा सम्पन्न ३।८ किमी पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमी साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमी दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए । त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे ।

चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए । खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समय बाहेक उनीहरूले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ ।

उपाधि जिते पछि स्वीडेस हसलमार्कले भने, ‘यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाएँ ।’

बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३।८ किमीको दूरी पौडेका थिए । त्यसपछि १८० किमीको साइकल दौड सुरु भएको थियो। साइकल रेस पोखरा भूपी शेरचन राजमार्ग हुँदै बागलुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।

लुम्रेबाट ४० किमी उकाली ओराली दौड सुरु भएको थियो। दौड पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए ।

यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाइ छुन भने असफल भइन् ।

‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई,’ नेपालमा पहिलो पटक सुरु गरिएको हो। अत्यन्त साहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसँग सहयोगी समेत हुने गर्दछ ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए। उनीहरूका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरू प्रतियोगिताका लागि करिब एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए । विजेता र सहभागी खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले पुरस्कार वितरण गरेका छन् ।

सो अवसरमा उनले भने, ‘यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै छैन गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको छ ।’

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए । दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोविद भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो ।

सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्