नेपालले जित्यो जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज



काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे ‘ए’ बिरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।

टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले ।

आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे । रोहित पौडेल खाता नखोल्दै आउट भए । विनोद भण्डारी २८ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४, सेफासले १६ तथा इनोसेन्ट कियाले १२ रन बनाए । लुक जोग्वी १९ रनमा आउट भए ।

नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।

सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो । यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्