आदर्शनारी सीताको अवतरण दिवस



जनकपुरधाम । जानकी नवमी अर्थात् आदर्श नारीको प्रतीक माता जानकीको धरतीमा अवतरण भएको दिन । मिथिलावासीका लागि जानकी नवमी एक विशेष तिथि हो । माता जानकीको वैशाख नवमीकै दिन धरतीमा अवतरण भएको थियो ।

त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यता रहेको छ । जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लासका साथ विविध कार्यक्रम हुने गर्छ । विशेष उत्सवको माहौल हुने गर्छ । तर यस पटक स्थानीय तह निर्वाचनका कारण अन्य वर्ष जस्तै उल्लास देखिएको छैन ।

यद्यपि जानकी मन्दिरमा जानकी नवमी पर्व मनाउनका लागि तयारी गरिएको छ। जानकी नवमीका दिन मिथिलामा व्रत गर्ने परम्परासमेत रहेको छ । जानकी नवमी व्रत गर्नाले पुत्रलाभको कामना पूरा हुने विश्वास गरिन्छ। माता सीतालाई लक्ष्मीको अवतारका रूपमा समेत मानिन्छ। माता सीताको व्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको वृद्धिसमेत हुने जनविश्वास छ ।

जानकी नवमी कथा
त्रेता युगमा मिथिलामा वर्षौंसम्म अनिकाल परेपछि राजा जनकले स्वयं हलो जोत्नुका साथै यज्ञको आयोजना गर्ने विचार गरे । यज्ञभूमि तयार पार्न राजर्षि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

माता जानकीको नाम सीता राख्नुका पछाडिको कारण यसै घटनासँग जोडिएको छ । हलोको डोबलाई संस्कृतमा सीत भनिन्छ । त्यसैले राजा जनकले उनको नाम सीता राखे ।
रामायणको पात्र, घटनाक्रम र कथानकलाई लिएर कयौं ग्रन्थको रचना भएको छ । रामायणको कतिपय पक्षहरूको शोध तथा अनुसन्धान हुन अझै बाँकी छ । यस विषयमा माता सीता र रावणबीचको सम्बन्ध पनि अनुसन्धानको पाटोभित्र पर्छ । केही विद्वान्ले सीता र रावणबीच बुुबा र छोरीको सम्बन्ध रहेको भनेपछि यस विषयमा निकै शोध भइरहेको छ ।

हुनत रामायणको सबैभन्दा प्रमाणिक ग्रन्थ बाल्मीकि रामायणमा यो प्रसंगबारे त्यस्तो कुनै उल्लेख देखिँदैन । बाल्मीकि रामायणमा जनकजीले सीताको उत्पतिको विषयमा यस प्रकार भनेका छन् ।
अथमे कृषतः क्षेत्रं लांगला दुत्यिता ततः ।
क्षेत्रं शोधयता लब्धा नाम्ना सीतोति विश्रुता ।।
भूत कादुत्थिता सा तु व्यवद्र्धत भमात्भजा ।
दीर्ययुक्लोति मे कन्या स्थापितेय भयोनिजा ।।

रामको जीवनमा करिब २०० भन्दा बढी रामायण लेखिएको छ । कति ग्रन्थका विद्वान् सीता र रावणबीचको सम्बन्धलाई प्रामाणिक पनि मान्छन् । यस्तै एउटा रामायण जसको नाउँ अद्वेत रामायण रहेको छ । भनिन्छ यो रामायण १४औं शताब्दीमा लेखिएको छ । यो मूलतः कथानक नभएर २ प्रमुख ऋषि बाल्मीकि र भारद्वाज ऋषिबीचको वार्तालाप रहेको छ ।

यो रामायणमा सीताको जन्म मन्दोदरीको गर्भबाट भएको उल्लेख रहेको छ । यस रामायणमा पूरै घटनाक्रमलाई उल्लेख गरिएको छ । जसमा रावणले एक ठाउँमा भनेका छन् धोखामा पनि आफ्नै छोरीलाई स्वीकार गरियो भने मेरो नाश हुन्छ ।

अद्भूत रामायणमा कथा आउँछ कि एक पटक दण्डकारण्यमा गृत्स्मद नामका ब्राह्मण लक्ष्मीलाई आफ्नो पुत्रीको रूपमा पाउनका लागि एक दिन कलशमा कुशको एउटा भागलाई मन्त्रोचारणका साथ दूध राखे । एक दिन उनको अनुपस्थितिमा रावण घर पुगे र ऋषि मुनीको रगत त्यसै कलशमा राखेर लङ्का लगे । कलशमा विष रहेकाले यसलाई संरक्षण गर्न मन्दोदरीलाई भनेर जिम्मा लगाएका थिए ।

यसपछि रावण विहार गर्न सह्द्री पर्वतमा गए । रावणको उपेक्षाबाट दुःखी भएर मन्दोदरी आत्महत्याको अभिप्रायले त्यो कलशमा भरिएको रगत खाइहालिन् । पछि मन्दोदरी गर्भवती भइन् । अशुभको डरले रावणले उनको भ्रुण निकालेर मिथिला भूमिमा गाडे र पछि त्यही भ्रूण परिपक्व भएर प्रकट भयो जो हलो चलाउँदा राजा जनकलाई प्राप्त भएको प्रसंग सो रामायणमा उल्लेख रहेको छ।

आदर्श नारी सीताको जनकपुरसँगको सम्बन्ध जन्मकालदेखि नै रहेको छ। राजा जनकले हलो जोत्दा जनकपुर नजिकै सीता प्रकट भएकी थिइन् । त्यसै कारणले होला जानकी नवमीमा भक्तजनहरू जनकपुर आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्