लमजुङमा बाढीले बगाउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्कविहीन 



लमजुङ : अविरल वर्षापछि लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। बाढीले ठूलो संख्यामा भौतिक क्षति समेत पुर्याएको छ।

जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर ४ जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो।

दोर्दी गाउँपालिका कार्यालय रहेको शेराबजार नजिकै दुईजना र थप दुईको शव ढोडेनीको किर्तीपुर क्षेत्रमा फेला परेको गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले जानकारी दिए। उनीहरूको सनाखत हुन नसकेको र जलविद्युत् आयोजनामा कार्यरत् कामदार हुनसक्ने उनले बताए।

स्थानीयबासी र जलविद्युत आयोजनाका कर्मचारीबाट उनलाई प्राप्त जानकारी अनुसार करिब २० जना कामदार सम्पर्क बाहिर रहेको जानकारी आफूले पाएको गुरुङको भनाई छ।

घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई, डिएसपी रबिन्द्रमान गुरुङ लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा गएको र उद्धारकार्यमा जुटिसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

बाढीबाट भएको मानवीय र भौतिक क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक गुरुङको भनाई छ।

प्रतिक्रिया दिनुहोस्