युक्रेनी सेनाको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त



एजेन्सी । पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ ।

युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् । ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका थिए ।

सेभेरोडोनेट्स्क शहको पश्चिमा पर्ने सिभेस्र्की डोनेट्स नदी तर्ने क्रममा रुसी फौज युक्रेनी सेनाको आक्रमणमा परेको स्काई न्युजले जनाएको छ ।

युक्रेनी पक्षले जारी गरेको भिडियोमा धेरै सैनिक उपकरण तथा सैनिक सवारी साधनहरु जलेर नष्ट भएको देखिन्छ । बेलायती रक्षा मन्त्रालयले बताएअनुसार यस आक्रमणमा रुसले झण्डै ‘बटालियन’ आकारको सैन्य एकाइ गुमाएको छ ।

रुसी फौजको एक ‘बटालियन’ सैन्य एकाईमा ७ देखि ८ सय सैनिक रहने गर्छन् । रुसी फौजले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै हाल पूर्वी युक्रेनमा भीषण लडाईंहरु भइरहेका छन् । पछिल्लो समय युक्रेनी सेनाले रुसी फौज विरुद्ध प्रत्याक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्