कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप



जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा ६ जना घाइते भएका छन् । वडा नम्बर ३ को मतगणनामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित युवाले ढुंगामुढा गरेपछि झडप भएको थियो ।

घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

झडपमा संलग्न तातोपानी ३ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिल्ली रावलसहित ८ जना प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार अहिले स्थिति सामान्य छ । मतदान केन्द्र आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा तातोपानी ३ को वडाध्यक्षमा डिल्ली रावलले नै जितेका थिए । कांग्रेसले तातोपानीका १ र ३ वडा जितेको हो । दुवै वडा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्