घरेलु मैदानमा नेपाल लगातार युगान्डासँग पराजित



काठमाडौं । ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ। जितसँगै ५ खेलको श्रृंखलामा युगान्डाले २–० अग्रता बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो। युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन्। उनले ३४ बलमा तीन चौका प्रहार गरिन्। यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन्।

नेपालकी कविता कुँवर र सबनम राईले समान २ विकेट लिए। यसबाहेक, सीता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए। यसअघि टस हारेपछि ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो।

नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन्। विन्दुले ३६ बलम २ चौका प्रहार गरेकी थिइन्। यस्तै, सरिता मगरले २२ र कप्तान रुवीना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन्। युगान्डाकी जनेत एम्बाबाजीले २ विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान १–१ विकेट लिए।

नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध ५ खेलको टी–२० श्रृंखला खेल्ने तालिका छ। यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो। नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो।

प्रतिक्रिया दिनुहोस्