गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित



चितवन । ५ दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ। एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन्।

२०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन्। खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरील १३ हजार ६९५ मत प्राप्त गरे।

पूर्व सांसदसमेत रहेका चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन। उपमेयरमा एमालेकी कविता उप्रेती ४ हजार ४९४ मतान्तरले निर्वाचित भइन्।

उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले ९ हजार ६७० मत प्राप्त गरिन्।खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो। एमालेले सात वडामा जित हात पारेको छ।

वडाहरूको मतपरिणाम यस्तो छ

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन्। भुसाल १ हजार ९४ मत ल्याएर विजयी भए। उनका निकतम प्रतिस्पर्धी एमालेका वसन्त लामिछानेले ९ सय ३३ मत ल्याए।

खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भयो। अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५ सय ८४ मत मात्रै प्राप्त गरे।

खैरहनी–३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७ सय ७७ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६ सय ९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन। सदस्यमा मिश्रित परिणाम आएको छ।

खैरहनी–४ मा एमालेका वेदबहादुर अधिकारी १५ सय ५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भए। कांग्रेसका नारुद करुवालले ७८९ मत मात्रै प्राप्त गरे। खैरहनी–५ को अध्यक्षमा एमालेका छत्रनाथ सुवेदीले ६५९ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका एकबहादुर बोहरा क्षेत्रीले ५६६ मत मात्रै प्राप्त गरे।

खैरहनी–६ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा एमालेका कमल प्रसाद न्यौपानेले १ हजार २ सय १२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामेश्वर बर्तौलाले ९ सय ८४ मत मात्रै प्राप्त गरे।

खैरहनी–७ को अध्यक्षमा एमालेका मनेजर महतो एक हजार ८७ मत ल्याएर निर्वाचित भए। यस वडामा एमालेको प्यानल नै विजयी भएको हो। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरण चौधरीले ७ सय २६ मत मात्रै ल्याए।

खैरहनी–८ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका शंखर कँडेल ८ सय ३८ मत ल्याएर निर्वाचित भए। कँडेलका निकटतम प्रतिस्पर्धी एमालेका शान्तिकुमारी चौधरीले ८ सय २४ मत ल्याइन् ।

खैरहनी–९ मा एमालेको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा एमालेका बन्धुराम महतो ११ सय ७९ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पवन श्रेष्ठले ८ सय ६८ मत मात्रै प्राप्त गरे।

खैरहनी–१० मा कांग्रेसको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा कांग्रेसका चन्द्र विक्रम चौधरीले १८ सय ५५ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी एमालेका कारीराम चौधरीले १७ सय ५१ मत प्राप्त गरे।

खैरहनी–११ को अध्यक्षमा एमालेका दीपेन्द्र कुमार दरै ८ सय ४० मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तोष भण्डारीले ६१९ मत मात्रै प्राप्त गरे। खैरहनी–१२ को अध्यक्षमा कांग्रेसका केदारनाथ पन्त ११ सय ३७ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णलाल चौधरीले एक हजार ३६ मत ल्याए।

खैरहनी–१३ को अध्यक्षमा एमालेका कुलप्रसाद भुसाल ११ सय ४० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सानोकाजी कुँवरले ९ सय २४ मत मात्रै प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्