सन्धिखर्क नगरपालिकामा एमालेसँग ५ दलीय गठबन्धन पराजित



बुटवल । अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ। जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले ५ दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७ सय ८१ मतान्तरले पराजित गरे।

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए।

यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुख–उपप्रमुख दुबै पद नेकपा एमालेले हात पारेको हो। नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३ सय ९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८ सय ७५मत पाएर विजयी बनिन्।

गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मतमा चित्त बुझाए।

प्रतिक्रिया दिनुहोस्