चुनावका १० रोचक घटना : कसैले ‘भाग्य’ले खाए, कतिले शून्य मत पाए



काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणना जारी रहँदा निर्वाचनसँग सम्बन्धित रोचक घटनाहरू पनि सार्वजनिक भइरहेका छन् । कतिपय त सहजै पत्याउन मुस्किल पर्ने खालका पनि छन् । पहिलो प्रसङ्ग छ, महोत्तरीको बर्दिबास नगरपालिक–८ को । वडाध्यक्ष पदका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शम्शेर सिंहले निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित घोषणा गरेपछि विजय उत्सव मनाए। खुसी साटे। उनलाई बधाई र शुभकामनाको ओइरो लाग्यो।

जनप्रतिनिधि भएर वडा सरकार चलाउन पाइएको भन्दै उनी खुुसी भए। निर्वाचन जित्दा खुसी हुनु अस्वाभाविक पनि होइन । तर, उनको खुसी धेरैबेर टिकेन। निर्वाचन कार्यालय महोत्तरीबाट उनलाई बिहीबार दिउँसो फोन आयो, ‘अझै एउटा मत पेटिकाको मत गणना बाँकी छ।’ निर्वाचन कार्यालयको फोनका कारण उनको खुसी खोसियो । र, बाँकी रहेको मत पेटिकामा भएका मतपत्र गणना भयो। गणना सकिँदा उनका प्रतिद्वन्द्वी रुद्रबहादुर किङ्गरिया मगरको र उनको समान मत भयो–७६७। मगर एमालेका उम्मेदवार हुन् । दुवैको मत बराबरी भएपछि भने जित ‘भाग्य’मा अडियो । निर्वाचन अधिकृतको कार्यालयले गोला प्रथाबाट जित/हारको निर्णय लिने भयो।

अन्ततः गोलाप्रथाबाट उनी विजयी भइछाडे । अर्थात्, भाग्यशाली ठहरिए । गुमेको खुसी फिर्ता आयो। जारी निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा भएको यो एउटा निकै रोचक घटना हो। अर्को रोचक घटना भने कंचनपुरको शुक्लाफाँटा नगरपालिका– ७ को छ, जहाँका २ वडाध्यक्ष पदका उम्मेदवारको पत्यार नलाग्ने निर्वाचन परिणाम सार्वजनिक भयो । निर्वाचनमा विजयी हुने भनेको मतले हो । प्रत्यक्ष निर्वाचन प्रणाली भएकाले जसले बढी मत पाउँछ, त्यही उम्मेदवार निर्वाचित हुने हो । र, निर्वाचनमा उम्मेदवार स्वयंले पनि मतदान गर्न पाउँछन् । तर, यस वडामा अध्यक्ष पदका उम्मेदवार बनेका रामबहादुर ठगुन्ना र हरकसिंह ठगुन्नाले १ मत पनि पाएनन् ।

यसो हुनुको २ वटा कारण हुन सक्ने मानिसहरूले अड्कल गरेका छन् । पहिलो, आफैँले गरेको मतदान बदर भयो । दोस्रो, आफैँलाई मत दिएनन् । कहिलेकाहीँ उम्मेदवारले कुनै उम्मेदवारलाई समर्थन गरेर मतदान गर्दा पनि यस्तो परिणाम आउन सक्ने अवस्था हुन्छ । कंचनपुरमा यसरी उम्मेदवारले १ मत नपाउँदा धादिङको नीलकण्ठ नगरपालिका– ६ मा भने अस्पतालको शय्यामा गम्भीर अवस्थामा उपचाररत घाइते निर्वाचित भए। उनी हुन्, भूपेन्द्र श्रेष्ठ । उनी निर्वाचित भएका गोलाप्रथाबाट हो। श्रेष्ठका प्रतिद्वन्द्वी लक्ष्मण रम्तेल भने प्रहरी हिरासतमा छन्। निर्वाचन अधिकृतको कार्यालय नीलकण्ठ नगरपालिकाका अनुसार दुवै जनाले ७५८ मत पाए।

त्यसपछि जितको निर्णय गोलाप्रथाबाट लिइएको कार्यालयले जनाएको छ। २८ वैशाखमा श्रेष्ठ र रम्तेल पक्षबीच झडप भएको थियो । धादिङमा वडाध्यक्ष अस्पतालमा भएकै बेला निर्वाचित भएको खबर सार्वजनिक हुँदा जनताले नगरपालिका प्रमुख बनाउँछु भनेपछि प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवार बनेको बताउने उपेन्द्रप्रसाद कुशवाह पराजित भएका छन् । उनी सर्लाहीको गोडैता नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए । पराजित भएपछि उनले भनेका छन्, ‘जनताले प्रमुखमा पत्याएनन् ।’ उनलाई पराजित गर्ने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार देवेन्द्रकुमार यादव हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार यादवले ५ हजार २९४ मत र कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहको पराजयले ‘भुइँको टिप्न खोज्दा गोजीको पनि झर्‍यो’ भन्ने आहान चरितार्थ भएको छ। उता, डडेल्धुराका एक जना उम्मेदवार भने मतदानअघि नै निकै चर्चामा थिए । उनी हुन्, खडक ठकुराठी । चर्चामा आउनुको कारण उनको चुनावी प्रतिबद्धतामा उल्लेखित एजेन्डा थियो । उनको एजेन्डा हो, ‘हेलिकोप्टरबाटै बिउ छर्ने र ३६५ दिननै दसैं मनाउने व्यवस्था गर्ने ।’उनका यी एजेन्डा मतदाताले भने पत्याएनन् । हास्यपरक उनको एजेन्डालाई मतदाताले पनि नपत्याएको मत परिणामले नै पुष्टि गर्‍यो । उनी डडेल्धुराको भागेश्वर गाउँपालिका– १ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार हुन् । ३१ वैशाखमा मत परिणाम सार्वजनिक हुँदा थाहा भयो कि उनलाई २ मत पर्‍यो ।

२ मध्ये १ मत उनकै हो । अर्को मत आफन्तको हुन सक्ने अनुमान गरिएको छ । तर, टोलका मतदाताले पनि उनको उट्पट्याङ ठहर्‍याउँदै मत नदिएको अनुमान गर्न असहज छैन । यस्तै, सर्लाहीमा नगरपालिकाको प्रमुख हुन प्रदेश सांसदबाट राजीनामा दिएर लड्दा निर्वाचन हारेको प्रसङ्गसँग मेल खाने घटना धनुषाको विदेह नगरपालिकामा पनि भएको छ।

त्यहाँको प्रमुख बन्न नेपाली कांग्रेसले उम्मेदवार बनाउने भनेपछि गोविन्द साहले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाट फागुनमा राजीनामा दिए। तर, उनलाई निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएन। उम्मेदवार नबनाएपछि उनले ११ वैशाखमा स्वतन्त्र उम्मेदवारी दिए । लालटिन निर्वाचन चिह्न लिएर चुनावी मैदानमा त गए तर निकटतम प्रतिद्वन्द्वीसम्म हुन सकेनन् । उक्त नगरपालिकामा एमालेका वेचन दास तत्मा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्