डोटी बस दुर्घटना : पाँचको अवस्था जटिल, बालक बेपत्ता



डोटी । डोटीमा शनिबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् भने एकजना बेपत्ता छन् । घाइते १२ जना मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए।

उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको रात्रिबस शनिबार बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो। अन्य घाइतेको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्