पोखरा महानगरको मेयरमा धनराज आचार्य जित नजिक



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन्। अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ४३६ मतको अग्रता लिएका छन्।

पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १ लाख ३० हजार ७२७ मतगणना सकिएको छ। अब महानगरका १२ हजार ४९९ मत गन्न बाँकी छ।

हालसम्मको मतगणना परिणाम अनुसार आचार्यले ५२ हजार ९७२ मत पाएका छन्। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले हालसम्म ४८ हजार ५३६ मत पाएका छन्।

थापा मेयर निर्वाचित हुन गणना हुन बाँकी मतमा ८ हजार बढी मत पाउनुपर्छ, जुन असम्भव देखिएको एमाले कास्कीका एक नेताले बताए।

अहिलेसम्मको मत परिणाम हेर्दा लगातार आचार्यले अग्रता लिइरहेका छन्। एमालेले वडाध्यक्ष र उपमेयरमा बढी मत पाएका ठाउँमा समेत आचार्यको अग्रता देखिएको छ। गणना हुन बाँकी रहेको १२ हजार ४ सय ९९ मतमा आचार्यका पक्षमा कम मत आएपनि अहिलेसम्म ४ हजार ४३६ मतले अग्रता लिएकाले थापाको हार देखिएको ती नेताले बताए।

हालसम्मको मत परिणाम अनुसार मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९१९ मत पाएका छन्। यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरूङ पनि जित्ने पक्का देखिन्छ।

प्रतिक्रिया दिनुहोस्