गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की



काठमाडौं : भारतीय गायक उदित नारायण झाले पछिल्लो एक महिनादेखि आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।

उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएका छन्। उनका अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा धम्की दिइरहेका छन्।

तर, फोन गर्ने व्यक्तिले पैसाको माग भने नगरेको बताएका छन्। यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ। नम्बरको लोकेशन बिहार भएको बताइएको छ। पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ।

हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार अब पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ। उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन्। दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए। उनले भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताए।

हामी उदित नारायणको घर वरिपरि पहरा दिइरहेका छौं। पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरूमाथि निगरानी राखिरहेको छ।’ पुलिसका अनुसार पछिल्लो एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन्।

पहिलो फोन एक महिना अघि आएको थियो। दोस्रो कल १७ जुलाई र तेस्रो २३ जुलाईमा आयो। पुलिस अधिकारका अनुसार जो व्यक्ति उदितलाई धम्की दिइरहेका थिए उनको नाम लक्ष्मण हो।

फोन गर्ने व्यक्तिले आफूलाई उदित कहिले घरबाट निस्कने, कहाँ जान्छन् ती सबैबारे जानकारी भएको र उनलाई ज्यान मार्ने धम्की दिइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्