‘द भ्वाइस अफ नेपाल’ को दोस्रो सिजन साउन २४ बाट



काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन साउन २४ गतेबाट प्रशारण हुने भएको छ। कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ।

यो सिजनको कार्यक्रमका जम्मा ३२ वटा श्रृंखला प्रशारण हुने छ। अघिल्लो हप्ता प्रोमो सार्वजनिक गरेको आयोजकले ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन प्रशारण हुने विषय बारेमा जानकारी दिएका छन्।

शोका चार कोच मध्ये पहिलो सिजनबाट दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिएका छन् भने सनुप र अभयाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई देख्न सकिन्छ। डिजिटल अडिसनपछि ब्लाइन्ड अडिसनका लागि १२ वटा श्रृंखला सुटिङ भइसकेको छ।

२ हजार २ सय सहभागी भएका प्रतिस्पर्धीमध्ये ‘डिजिटल अडिसन’बाट ११० जना प्रतिस्पर्धीलाई छनोट गरिएको हो। ब्लाइन्ड अडिसनको सबै सुटिङ सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेको कारणले अलिकति समय लाग्ने भएकोले साउन २४ मा प्रशारण हुने ‘भ्वाइस अफ नेपालुका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

पहिलो सिजनमा खासै यो कार्यक्रम राम्रो नभएको भन्ने विभिन्न गुनासो आएकाले यसपटक नयाँ फम्र्याटमा कार्यक्रमलाई संचालन गरिएको छ।

गत वर्ष ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शोमा एकै दिन चारजना आउट भएको गुनासो आएका कारणले यसपटक ‘ब्लाइन्ड’, ‘ब्याटल’ पछि प्रत्येक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने र फिनालेमा पुग्नका लागि ‘लाइभ शो’ पछि ‘नक आउट चरण’ थपिने भएको छ। यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने भएका छन्।

प्रतिक्रिया दिनुहोस्