प्रोफेसर यदुनाथ खनाल प्रवचन कार्यक्रम जेठ २४ गतेबाट



काठमाडौं । परराष्ट्र मन्त्रालयले यही जेठ २४ गतेबाट प्रोफेसर यदुनाथ खनाल प्रवचन कार्यक्रम सुरु गर्ने भएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयहरूमा प्रोफेसर यदुनाथ खनालले पु¥याएको योगदानको कदरस्वरूप उनको नाममा कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रवचन श्रृङ्खलाको प्रथम संस्करण जेठ २४ गते मंगलवार काठमाडौंमा आयोजना गरिनेछ ।

प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एवम् अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने उक्त श्रृंङ्खलाको पहिलो प्रवचन वेलायतको लिड्स विश्व विद्यालयका प्राध्यापक प्रोफेसर डा.सूर्य प्रसाद सुवेदीले ‘नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य’ विषयमा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्